Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

हिम स्टार उर्जा कम्पनीको ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनीको ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि खुला

  • काठमाडौं। हिम स्टार उर्जा कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।

    कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकिएको छ।

    अब बाँकी रहेका ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिँदैछ। साथै, कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता शेयर छुट्याइएको छ।

    सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा असार २७ गते बन्द हुनेछ भने ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।

    आईपीओ निष्काशनको लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (BB–)” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड ७७ लाख रुपैयाँ रहेको यो आयोजनाको २७.७ वर्ष विद्युत अनुमतिपत्र बाँकी छ। कम्पनीको लगानी फिर्ता हुने साधारण अवधि ७.१४ वर्ष र डिस्काउन्टमा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेड ले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij