
काठमाडौँ। बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका काठमाडौं तार्केश्वर नगरपालिका निवासी ३६ वर्षीय सबिन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
महर्जनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान र कानुनी कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं प्रहरीले जनाएको छ। उनीविरुद्ध बैंकिङ्ग कसुर अन्तर्गत ९ लाख ८० हजार रुपैयाँ बराबरको बिगो बाँकी रहेको छ।
प्रहरी अनुसन्धानका क्रममा महर्जनमाथि यसअघि पनि दुई फरक बैंकिङ्ग कसुर मुद्दा दर्ता भइसकेको खुलासा भएको छ। २०८१ साल असोज ९ गते, प्रहरी वृत्त थानकोटमा १ करोड ५० लाख रुपैयाँ बराबरको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि, सोही वर्षको कात्तिक २७ गते, प्रहरी वृत्त बालाजुमा थप ७ लाख रुपैयाँको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
महर्जनमाथि हालसम्म तीन वटा बैंकिङ्ग कसुर मुद्दा दर्ता भइसकेका छन्। प्रहरीले उनलाई कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij