Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

शाहीको आरोप: ‘विधेयकमा छेडछाड, सभापति खतिवडाले राजीनामा दिनुपर्छ’

शाहीको आरोप: ‘विधेयकमा छेडछाड, सभापति खतिवडाले राजीनामा दिनुपर्छ’

‘कानुन निर्माण प्रक्रियामा छेडछाड गम्भीर अपराध हो’ भन्दै संसदभित्रैको अनियमितता प्रकट

  • काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। उनले विधेयक संशोधन प्रक्रियामा भएको कथित चलखेललाई ‘नैतिक पतन र गम्भीर अपराध’ को संज्ञा दिँदै तुरुन्त छानबिन गर्न माग गरेका हुन्।

    सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले कुलिङ पिरियड अवधिमा संसदमा प्रस्तुत विधेयकमा समिति चरणमा नरहेको “नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक” भन्ने शब्द प्रतिनिधिसभामा थपिएको दाबी गरे। उनका अनुसार, यस्तो हेरफेर संसदको गरिमा र कानुनी प्रक्रिया दुवैको अपमान हो।

    "यो जघन्य अपराध हो। सांसदहरूको अधिकारमाथि नै प्रहार गरिएको छ," शाहीले भने, "समितिका सभापतिले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ।"

    शाहीले विधेयक संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई ‘राज्यविरुद्धको कसुर सरह’ मानेका छन्। यदि कुनै कर्मचारी वा समूहले सो प्रक्रिया प्रभावित गरेको प्रमाणित भएमा, उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।

    “कानुन बनाउने प्रक्रियामा छेडछाड हुनु गम्भीर अपराध हो,” शाहीले थपे, “यो देशको हितमा होइन। अपराधी जो कोही भए पनि कारबाही हुनुपर्छ।”

    उक्त विधेयक समितिबाट पारित हुँदा यस्तो भाषा नरहेको तर संसदमा प्रस्तुत गर्दा संशोधन गरिएको तथ्य सार्वजनिक भएपछि शाहीलगायत अन्य विपक्षी सांसदहरूले प्रश्न उठाएका छन्।

    शाहीले लोकतान्त्रिक प्रणालीमा कानुनी प्रक्रिया पारदर्शी र निष्ठामा आधारित हुनुपर्ने बताए। उनले संसद र जनताको विश्वास गुम्ने किसिमको व्यवहार बर्दास्त गर्न नसकिने चेतावनी पनि दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij