
काठमाडौँ । पछिल्लो समय डिजिटल प्रविधिको चकाचौँधमा , सहजै विदेश कमाउन जान पाउने, सहजै ठुलो धन कमाउन पाउने काम पाउने, विभिन्न किसिमको भावनात्मक नशामा लठ्ठिएकाहरू विशेषगरी डिजिटल ठगहरूको शिकार हुने गरेको पाइन्छन् ।डिजिटल ठगहरूले विश्वासको तानाबाना राम्ररी बुनेकाले उनीहरू सहजै शिकार हुने गरेको साइबार अपराधसँग सम्बद्ध विज्ञहरू बताउँछन् ।
पछिल्लो समय सामान्य व्यक्तिदेखि पढेलेखेका डाक्टर, इन्जिनियर, सांसदहरू समेत डिजिटल वित्तीय ठगीमा पर्ने गरेको पाइएका छन् । सूचना प्रविधिको विकाससँगै डिजिटल ठगीको जालो समेत मौलाइरहेको छ । यसो हुनु डिजिटल युग आउन लागेको र यसलाई नजान्ने खत्तम हुने खालका डिजिटल प्रविधिबारे भइरहेको सार्वजनिक गोष्ठी र सेमिनारका साथै टिकटकका आकर्षक रिल आदिहरूको प्रभावमा अनपढ भन्दा पढालेखा बढी पर्ने गरेको विज्ञहरू बताउँछन् ।
साइबर ब्यूरोले डिजिटल वित्तीय ठगीका मुद्दाहरूको भयावह स्थिति रहेको जनाएको छ । साइबर ब्यूरोका पदाधिकारीहरूका अनुसार साइबर ब्यूरोमा डिजिटल अपराधका १७ हजारभन्दा बढी उजुरी परेका छन् । ती मध्ये ७ हजार ५० जना डिजिटल वित्तीय ठगीका पीडितहरू छन् । ती ७ हजार पीडितहरूले दिएका उजुरीहरूको आधारमा १ अर्ब ९३ लाख ३५ हजार रुपैयाँको ठगी भएको छ ।
ब्यूरोको तथ्याङ्कअनुसार अनलाइन काम खोजिदिने र ऋणसम्बन्धी विषयमा सबैभन्दा बढी रकमको ठगी भएको देखिन्छ । यस्तामा १ हजार ९६९ वटा जनाले दिएको निवेदनमा ५२ करोड ९३ लाख ३ हजार रुपैयाँ ठगी भएको साइबर ब्यूरोका अधिकारीहरू बताउँछन् । सोही क्रममा लटरी, गिफ्ट, मनीमा ४७६ जनाले दिएको निवेदनमा १५ करोड ७० लाख २४ हजार रुपैयाँ र अनलाइन सपिङमा २ हजार ६६२ जनाको निवेदनमा ८ करोड ६८ लाख ५३ हजार रुपैयाँको ठगी भएको छ ।
१० हजार रुपैयाँभन्दा घटीका २ हजार ६६८ जना, १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका १ हजार ८४० जना, ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका १ हजार ४७४ जना, २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका ८९२ जना र १० लाख रुपैयाँभन्दा माथिका १७६ जना डिजिटल वित्तीय ठगीका पीडित रहेको साइबार ब्युरोको तथ्यांकमा सूचीकृत रहेको छ ।
चालु आवको हालसम्म कुल निवेदनमध्ये अनलाइन फ्रड तथा स्क्याम (ठगी) ४१.५४ प्रतिशत, एकाउन्ट ह्याक्ड ३०.८३ प्रतिशत, इम्पेर्साेनेसन १०.५३ प्रतिशत, डिफेम ८.३५ प्रतिशत, ह्यारेसमेन्ट÷बुलिङ ५.३६ प्रतिशत, हेट स्पिच १.७६ प्रतिशत, थ्रेट अफ भायोलेन्स ०.८० प्रतिशत, मिसिङ÷किड्न्याप ०.५३ प्रतिशत, सेक्सिङ ०.१५ प्रतिशत र मोर्फिङ ०.१५ प्रतिशत हिस्सा रहेको जनाइएको छ ।
डिजिटल फाइनान्सियल सर्भिस भित्र मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट, अनलाइन बैंकिङ, अनलाइन प्लेटफर्महरू मार्फत ऋणको लागि आवेदन दिने (डिजिटल लेण्डिङ), डिजिटल इन्स्योरेन्स, अनलाइनमार्फत बीमा पोलिसी खरिद, दाबी, भुक्तानी डिजिटल इन्स्योरेन्स, सेयर कारोबारका लागि अनलाइन इन्भेष्टमेन्ट प्लेटफर्म पर्छन् । नेपालमा क्रिप्टोकरेन्सी र ब्लकचेन सर्भिसलाई गैरकानुनी रुपमा लिइएको छ । तर, जुन देशमा यसलाई वैद्य मानिएको छ, त्यहाँ क्रिप्टोकरेन्सी र ब्लकचेनलाई डिजिटल पनि फाइनान्स सर्भिसका रूपमा लिने गरिएको छ। दक्षिण एसियामा भुटानले नै क्रिप्टोकरेन्सीलाई वैध मानेको छ । क्रिप्टोकरेन्सी हुने टप फाइभमा भुटान परेको छ ।
भविष्यमा डिजिटल कारोबार नरोकिने र क्रिप्टोकरेन्सी व्यवहारमा आउने भएर भुटानले वैध बनाइदिएको छ । डिजिटल प्रविधि आउने दिनको यथार्थ भएकोले यसबारे आवश्यक जानकारी लिएर नै वित्तीय कारोबार गर्न सही हुने विज्ञहरूको सुझाव छ । सामाजिक सञ्जालमा पूर्णरूपले भर परेर गर्दा जोखिममा पर्ने सम्भावना धेरै रहेको छ । आउँदा दिनमा चेक र कुपन लिएर लाइन बस्ने जमाना सकिने छ । त्यसैले अहिलेदेखि नै सजग भएर बस्नुपर्ने अवस्था रहेको साइबर ब्युरोका अधिकारीहरू बताउँछन् ।
विभिन्न बहानामा ओटीपी मागेर ठगहरूले सम्भावितको इन्टरनटेट सुविधामा प्रवेश गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूका ओटीपी माग्ने र रकम ठग्ने गरेको पाइन्छ ।लटरी तथा गिफ्ट तपाईँको नामको छ यसलाई छुटाउन निश्चित रकम अमूक बैंक खातामा हाल्नुपर्ने भनेर हाल्न लगाइ ठगी गर्ने गरिएको साइबर ब्युरोका अधिकारीहरू बताउँछन् ।
इन्हेरिट्यान्स (उत्तराधिकार) स्क्याम ठगी पनि रहेको छ । यसमा पनि अमूक व्यक्तिले अमूक रकम तपाईँको नाममा आएको छ न्यूनतम रकम चाहियो भनेर राख्न लगाउने गरिएको छ ।अनलाइन टास्क (इन्भेष्टमेन्ट स्क्याम)ः यसमा सबैभन्दा बढी प्रयोग भएको एप टेलिग्राम एप हो । थोरै लगानीमा धेरै मुनाफा दिने भनेर विश्वस्त आधार तय गरिएको हुन्छ । यस्तोमा मानिसहरू फस्ने गरेका छन् ।
इकमर्सः सामाजिक सञ्जालमा विभिन्न सामानहरू सस्तो मूल्यमा महँगा सामान राखी बिक्री गर्ने गरिएको छ । पैसा तिरेपछि ब्लक गर्ने र सामान नआउने गरिएको ठगी हुन्छ ।
मालवेयरः अपरिचत स्रोतबाट सफ्टवेयर इन्स्टल गर्ने प्रोभोक गरी गर्न लगाइन्छ । त्यसपछि ठगी गरिन्छ ।इमेल स्पूफिङः पर्यटन क्षेत्रमा विभिन्न संघसंस्थाहरू छन्, ती संस्थाहरूले विदेशबाट पर्यटकहरू बोलाएर नेपालका विभिन्न ठाउँहरुमा घुमाउने गर्छन् । ह्याकरहरूले संस्थाका क्लाइन्ट पत्ता लगाउँछन् । अनि उनीहरुले कम्पनीको हुबहु इमेल आइडी बनाउँछन् । सहजै छुट्टयाउने गाह्रो हुने गरी बनाइएकोले मानिसहरू शिकार हुने गरेका छन् ।
द अलर्ट÷एट अलर्ट लगायत बल्क एसएमएसमा पनि धेरै स्क्याम हुने गरेका छन् । एसएमएस आएपछि युजरले क्लिक गर्छन् । जस्तो तपाईंको खल्ती खाता लक्ड भएको छ भनेर एसएमएसमा लिंक पनि पठाउँछ । प्रयोगकर्ताले पनि क्लिक गरेपछि खल्ती जस्तै देखिने ड्यासबोर्ड राख्छ । त्यसमा युजरनेम र पासवर्ड राख्न लगाउँछ ।
फिसिङ इमेल, शङ्कास्पद लिंकलाई पहिचान गरेर कुन आधिकारिक हो र कुन आधिकारिक होइन भनेर पत्ता लगाउन सक्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । यसका लागि अनावश्यक लिंकमा क्लिक नगर्ने, नचिनेको मान्छेसँग कुरा नगर्ने, अनावश्यक फाइल डाउनलोड नगर्ने र बलियो पासवर्ड राख्न साइबर ब्युरोका अधिकारीहरूको सुझाव रहेको छ ।उनीहरूका अनुसार सामाजिक सञ्जालमा सबै विवरण नराखी कम मात्रै जानकारी राख्नुपर्ने हुन्छ । साथै, भिजिटिङ कार्ड बनाउन हुँदैन् । व्यक्तिगत इमेल, फोन प्रयोग भएको हुँदा स्क्यामरले ह्याक गरेर ठगी गर्न सक्ने सम्भावना रहन्छ ।त्यसैले सचेतना र सतर्कता अपनाउन गरी रहेको उनीहरू बताउँछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij