
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिएर आज (शुक्रबार) स्वदेश फर्किएका छन्। उनी गत असार १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमणलाई सफल भन्दै १९ बुँदामा आधारित उपलब्धिहरू सार्वजनिक गरेका छन्।
भ्रमणका मुख्य उपलब्धिहरू यस्ता छन्:
प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकहरूको विश्व समन्वय ब्युरोको अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गरे।
सम्मेलनमा उनले गरिबी, जलवायु परिवर्तन, ऋणभार, असमानता लगायतका चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन जोड दिए।
सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरे।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज, इजिप्ट, पोर्चुगल, इस्टोनिया लगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरे।
इजिप्टका प्रधानमन्त्रीसँग भेटमा उनले हमासद्वारा अपहरण गरिएका नेपाली विपिन जोशीको रिहाइमा इजिप्टको सहयोगको प्रशंसा गर्दै थप पहलको आग्रह गरे।
प्रधानमन्त्री ओलीले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा गरे।
सम्मेलनमा आयोजित ‘विश्व ऐक्यबद्धतामा लगानी’ कार्यक्रम, LDCs को उच्चस्तरीय कार्यक्रम र Civic Society Forum मा समेत सहभागी भई सम्बोधन गरे।
उनले विकास साझेदारहरूलाई सहुलियतपूर्ण ऋण र प्रभावकारी विकास सहकार्यको सिद्धान्त अपनाउन आह्वान गरे।
स्पेनका व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै ओलीले जलविद्युत, पर्यटन, पूर्वाधार, कृषि र सूचना प्रविधिमा लगानी गर्न आग्रह गरे।
स्पेनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्दै उनले प्रवासीहरूको हितमा प्रभावकारी कूटनीतिक उपस्थिति सुनिश्चित गर्ने निर्देशन दिए।
उनले WTO की महानिर्देशक गोजी ओकोन्जो इवेलासँग भेट गर्दै नेपालको व्यापार क्षमतामा सहयोगको आग्रह गरे।
प्रधानमन्त्रीको भ्रमणमा आयोजित राजकीय भोजहरूमा सहभागी, विभिन्न मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने अवसर समेत मिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, उच्च सरकारी अधिकारीहरू सहभागी थिए।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सक्रियताले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि गर्नुका साथै स्तरोन्नतिको अभियानलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन सघाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij