Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २० शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार २० शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २० शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    पेन्सन प्रणाली हटाउँदै, सरकारले नयाँ कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्दै

    काठमाडौं । आर्थिक वर्ष २०८२र८३ बाट नियुक्त हुने कर्मचारीहरूका लागि अबदेखि पेन्सन तथा उपदान प्रणालीको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ।

    यस उद्देश्यका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आवश्यक तयारी र व्यवस्था गर्न परिपत्र पठाएको छ।

    मन्त्रालयले यो प्रणाली लागू नगरेका कारण भविष्यमा सिर्जना हुनसक्ने आर्थिक दायित्व नेपाल सरकारले बेहोर्ने छैन भन्ने स्पष्ट सूचना समेत दिएको छ। यसले सामाजिक सुरक्षालाई दिगो र दीर्घकालीन बनाउने सरकारको प्रयासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

    काठमाडौ ।  राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

    सभाको आजको बैठकको शून्य समयमा प्रतिनिनिधिसभाबाट पास भई राष्ट्रियसभामा पेस भएको विधेयकमाथि धारणा राख्दै सदस्यहरू यस्तो माग गर्नुभएको हो । सभा सदस्य गङ्गाकुमारी बेल्वासेले कुलिङ पिरियडका विषयमा प्रतिनिधिसभामा घटेको घटनाका विषयमा गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
     
    सदस्य गोपीबहादुर सार्की अछामीले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडको विषयमा बेइमानी भएको भन्दै कारबाहीको माग गर्नुभयो । सदस्य मृगेन्द्रसिंह यादवले निजामती विधेयकमा छलछाम गरेर प्रतिवेदन ल्याउनेलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

    ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर

    काठमाडौँ  । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
    यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।
    यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।
    योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

    ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो। कार्यालयले ती कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेश गर्न पहिले नै आग्रह गरेको थियो। तर, सो समयसीमा भित्र कुनै जवाफ नआएपछि अब पुनः ७ दिनभित्र कारण खुलाउँदै स्पष्टीकरण दिन अन्तिम आग्रह गरिएको छ।\

    गर्मीका कारण अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि, किसानलाई केही राहत

    नारायणगढ । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।

    अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा० रु ४९५ र मझौला अण्डाको रु ४६५ कायम गरेको छ 

    नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु १६ दशमलव ५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले असार २० गतेदेखि सुरु हुने ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा गएर कति सेयर खरिद गर्ने भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।

    सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन खुला गर्ने योजना बनाएको छ। बैंकले कुल २५ लाख इकाई ऋणपत्र जारी गर्नेछ, जसको प्रति इकाई मूल्य १ हजार रुपैयाँ तोकिएको छ। यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला रहनेछ।

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा ४.२३ गुणा बढी आवेदन

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री खुला गरेको आइपीओमा कुल १२ करोड ३७ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (असार २० गते) बिहान १०:०६ बजेसम्म ६१ हजार ८९४ जनाले १२ लाख ३७ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ४.२३ गुणा बढी आवेदन हुनुले कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखाएको छ।

    नेपाल इन्सुरेन्सले ३४.७८% हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । नेपाल इन्सुरेन्सले साउन ६ गतेदेखि ३४.७८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले १०:३.४७८३ अनुपातमा कुल १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार कुल जारी रकम १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ पुग्नेछ।

    सर्वोच्चको विवादित फैसला: कार्यपालिकाको स्वेच्छाचारिता बढ्दै, न्यायपालिकाको भूमिका संकुचित

    काठमाडौँ।  संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विवादास्पद फैसला सुनाएको छ। अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले कार्यपालिकालाई अधिक अधिकार दिएको र न्यायपालिकाको भूमिका कमजोर पारेको भन्दै न्यायिक वृत्त र कानुनविद्हरूबाट आलोचना भइरहेको छ।\

    ‘असारे विकास’को पुरानै दृश्य : पुँजीगत खर्च ५० प्रतिशतभन्दा कम

    काठमाडौंआर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा सरकारले खर्च गर्न नसकेको पुँजीगत बजेटले फेरि पनि ‘असारे विकास’को पुरानै दृश्य दोहोरिएको छ। असार १७ गतेसम्म कुल पुँजीगत बजेटको ४६.१२ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ।

    वर्षको ११ महिना आयोजना अघि नबढाउने अनि अन्त्यतिर आएर हतारमा बजेट सक्ने प्रवृत्तिलाई धेरैले ‘विकासको नाममा कर्मकाण्ड’ मात्रै भनेका छन्। वर्षैपिच्छे दोहोरिने यो अवस्थालाई नियामक निकाय र विज्ञहरूले सरकारको कार्यशैली र राजनीतिक इच्छाशक्तिमाथि प्रश्न उठाउने आधार बनाएका छन्।

    सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारे पनि विकास खर्चको सुस्त गतिले त्यो सपना नारामै सीमित हुने देखिन्छ। जब ऋण तिर्नुपर्छ, तर बजेट खर्च गर्न सकिँदैन, तब समृद्धिको सम्भावना कमजोर हुन्छ।

    संघीय संसद् : आज अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक

    काठमाडौं। संघीय संसद् अन्तर्गत आज शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। बैठक बस्न लागेका समितिहरूमा अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छन्।अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि प्रस्तावकर्तासँग छलफल गरिने कार्यसूची तय गरिएको छ।त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरिनेछ।आजको दुवै बैठकले सम्बन्धित विधेयकमाथि सांसदहरूबाट आएका प्रस्तावहरूमा गम्भीर छलफल गर्ने तयारी गरेको बताइएको छ।

    नेपालमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्र, ३१ जिल्लामा फैलियो

    काठमाडौं। नेपालमा कोभिड–१९ सङ्क्रमण पुनः फैलिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म देशभर ३१ जिल्लामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा कुल २४९ जनामा संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा ३५ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ३ नयाँ संक्रमित पुष्टि भएका छन्। यस्तै, कोभिड–१९ का कारण हालसम्म एक जनाको ज्यान गइसकेको छ।

    प्रधानमन्त्री ओलीको स्पेन भ्रमण सम्पन्न, १९ बुँदे उपलब्धि सार्वजनिक

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिएर आज (शुक्रबार) स्वदेश फर्किएका छन्। उनी गत असार १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमणलाई सफल भन्दै १९ बुँदामा आधारित उपलब्धिहरू सार्वजनिक गरेका छन्।

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित, प्रतिनिधिसभामा फिर्ता

    काठमाडौँ ।राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।
     
            बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij