Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २२ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असार २२ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २२ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

    हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दैलैजाने बताउनुभयो ।

     

     

    प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने बताउनुभयो । उहाँले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गर्नुभयो ।

    सयपत्री हाइड्रोपावरको ‘लक इन’ अवधि साउन २३ मा सकिँदै, सेयर कारोबारका लागि खुला हुँदै

    काठमाडौं ।सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीले होल्ड गरेको सेयरको ‘लक इन’ अवधि आगामी साउन २३ गते सकिने भएको छ। लक इन अवधि समाप्त भएपछि ती सेयरधनीहरूले आफ्नो सेयर सेकेन्डरी बजारमा  कारोबार गर्न सक्नेछन्।

    कम्पनीले सर्वसाधारणलाई २०७९ साउन २४ गते सेयर बाँडफाँट गरेको थियो। नियमन अनुसार, संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको सेयरमा तीन वर्षको लक इन अवधि अनिवार्य गरिएको थियो। हाल लक इनमा रहेको सेयरमध्ये २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीय बासिन्दाको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको सेयर रहेका छन्।

    शेयर बजार : नेप्से परिसूचकमा ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा ,९ अर्ब ५० करोड कारोबार रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा आएको छ । । यस दिन ९ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

    यस दिन ३१८ कम्पनीको २ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४९ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।

    पिपुल्स पावरको ५०% हकप्रद सेयरमा आजदेखि आवेदन खुला, साउन ११ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज ९असार २२ गते० देखि आफ्नो ५० प्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको छ। कम्पनीले १ः०.५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यो सेयर निष्कासनबाट कम्पनीले करिब ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्नेछ।

    कम्पनीले यसअघि असार २ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम म्याद साउन ११ गतेसम्म तोकिएको छ।

    ग्लोबल आइएमई समुन्नत योजना : आजदेखि इकाई बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज ९असार २२ गते० बाट “ग्लोबल आइएमई समुन्नत योजना” अन्तर्गतको इकाई बिक्री खुला गरेको छ। योजनाअनुसार सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो इकाई प्रदान गरिँदैछ।

     

    कुल १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई छुट्याइएको छ। बाँकी १० करोड २ लाख इकाई भने सार्वजनिक निष्कासनका लागि खुला गरिएको हो।

    नेपाल एसबीआईको ऋणपत्र निष्काशन असार ३० गतेदेखि

    काठमाडौँ । नेपाल एसबीआईबैंक लिमिटेड (एसबीआई)को ऋणपत्र निष्काशन तथा बिक्री खुला हुन लागेको छ ।  एसबीआईले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ निष्काशन गर्न लागेको जनाएको हो।

     

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्ने जनाइएको छ ।

    बुङ्गल हाइड्रोको आईपीओ निष्काशन असार २९ गतेदेखि

    काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ निष्काशन असार २९ गतेदेखि  हुन लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको हो।कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । त्यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको जनाइएको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का बासिन्दाहरुमा बाँडफाँट गरिने जनाइएको छ ।

    राप्ती हाइड्रोले हकप्रद शेयरमा आवेदन दिने अवधि बढायो

    काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड ( आरएसजीसीएल) ले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि बढाएको छ । कम्पनीले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने  जनाएको हो  । 

     

    कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरे अनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

    भियना ।पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ुओपेक प्लसु ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच
     लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ। यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो।

     

    ओपेकको  पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो। यो एक अन्तर्राष्ट्रिय संगठन हो,जसको स्थापना सन् १९६० सेप्टेम्बर १४ मा इराकको बगदादमा गरिएको थियो। हाल यसको मुख्यालय अस्ट्रियाको भियना शहरमा छ। ओपेकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै विश्व बजारमा कच्चा तेल ९पेट्रोलियम० को मूल्य स्थिर राख्नु, तेलको आपूर्तिमा सन्तुलन कायम गर्नु र सदस्य राष्ट्रहरूको आर्थिक हितको रक्षा गर्नु हो।ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने नीति अपनाएर अन्तर्राष्ट्रिय तेल मूल्यमा सन्तुलन ल्याउने प्रयास गर्दछ।

    गाजा युद्धविरामसम्बन्धी वार्ता दोहामा पुनः सुरु हुँदै, नेतान्याहूको अमेरिका प्रस्थानअघि कूटनीतिक पहल

    जेरुसेलम ।इजरायल र हामासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः सुरु हुने भएको छ । यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका प्रस्थानअघि प्रारम्भ हुँदैछ, जसअन्तर्गत उहाँ सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि वाशिङ्टन जाने तयारीमा हुनुहुन्छ । नेतान्याहूले दोहामा वार्ता टोली पठाउने जानकारी दिनुभयो । कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ । यद्यपि, उहाँले हामासले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा दिएको प्रतिक्रिया ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गर्नुभएको छ ।

    सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद

    धरान (सुनसरी)।सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो । इनरुवा नगरपालिका–९ बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

    दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

    दोधारा चाँदनी (कञ्चनपुर)। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताउनुभएको छ । आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उहाँले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताउनुभएको हो । गृहमन्त्री लेखकले भन्नुभयो, “बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ । अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ । निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ ।” बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन् ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ ।”

    सुनचाँदी व्यवसायीद्वारा सप्ताहव्यापी आन्दोलको घोषणा

    काठमाडौँ । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरी कार्यक्रम सार्वजनिक  गरेका छन् ।सरकारले आर्थिक वर्ष २०८२÷८३को बजेटमा सुनचाँदीमा लगाएको विलासिता कर खारेज हुनुपर्ने लगायतका माग राखी सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका हुन् ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलन गर्ने  तालिका सार्वजनिक गरेको जनाएको छ ।कार्यक्रम अनुसार आइतबार  असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् ।२३ गते सोमबार आन्दोलको सम्बन्धमा थप रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने( न्यूरोडमा प्लेकार्डसहित १ घन्टा विरोध प्रदर्शन गर्ने)

    आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो

    काठमाडौँ । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।

     

     

    प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।

     

    आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधनाको परम्परा बसाल्नुभएको बताउनुभयो ।

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij