Logo

Jul 15 2025 | २०८२, असार ३१गते

Jul 15 2025 | २०८२, असार ३१गते

images

बेइजिङमा लाभरोभ र सीबीच भेट : रूसी विदेश मन्त्रालय

बेइजिङमा लाभरोभ र सीबीच भेट : रूसी विदेश मन्त्रालय

  •  

    मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको मस्कोले जनाएको छ । यो भेटवार्ता साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन आएका शीर्ष रूसी कूटनीतिज्ञको भ्रमणका क्रममा भएको हो ।

     

    “सीले चिनियाँ राजधानीमा लाभरोभलाई साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को विदेशमन्त्रीहरूको परिषद्को बैठकमा उहाँको सहभागिताको एक भागका रूपमा स्वागत गर्नुभयो”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

     

    एससिओ शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारीसहित उच्चतम र उच्च स्तरमा द्विपक्षीय राजनीतिक सम्पर्कका धेरै मुद्दामा छलफल गरिएको पनि मन्त्रालयले बताएको छ । 

     

    चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गर्नुभएको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

     

    लाभरोभले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो ।

     

    रूसी विदेशमन्त्री उत्तर कोरियाको भ्रमणपछि चीन आउनुभएको हो । उत्तर कोरियामा रहँदा उहाँले युक्रेनसँगको द्वन्द्वमा समर्थनको आश्वासन प्राप्त गर्नुभएको थियो ।

     

    मस्कोको कूटनीतिक र आर्थिक सहयोगी बेइजिङले रूस र युक्रेनबीचको द्वन्द्वमा तटस्थ भएको दाबी गरेको छ ।

     

    तर चीनले रुसको तीन वर्षभन्दा लामो सैन्य अभियानको कहिल्यै निन्दा गरेको छैन न आफ्नो सेना फिर्ता लिन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीले बेइजिङमाथि मस्कोलाई समर्थन गरेको विश्वास गर्छन् ।

     

    चीनले नियमित रूपमा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ भने युक्रेनलाई हतियार प्रदान गरेर पश्चिमी देशहरूले द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।

     

    बेइजिङले लामो समयदेखि १० सदस्यीय साङ्घाई सहयोग सङ्गठनलाई नाटो जस्ता पश्चिमी नेतृत्वका शक्ति समूहहरूको प्रतिकारको रूपमा प्रस्तुत गर्न खोजेको छ भने राजनीति, सुरक्षा, व्यापार र विज्ञानमा यसका सदस्य देशहरूबीच सहयोग बलियो बनाउन जोड दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij