
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेको छ। विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट बुधवार दिउँसो बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो। कम्पनीको आईपीओमा कुल २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए, जसमध्ये १८ लाख ९५ हजार ३७६ जनाको आवेदन मात्र रितपूर्वक रहेकाले बाँडफाँटमा समावेश गरिएको थियो।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो। पहिलो चरणमा १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको थियो भने बाँकी ५ कित्ता सेयर एक(एक कित्ताका दरले पाँच जना आवेदकलाई थप प्रदान गरिएको थियो। यसरी कुल ७७ हजार ३९७ जना आवेदकले सेयर प्राप्त गरेका छन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि आईपीओ निष्कासन गरिसकेको थियो। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। उक्त सेयरमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १८ हजार ६५० कित्ता कर्मचारीका लागि, र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो।
कम्पनीले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ भने गत आर्थिक वर्ष ०८०र८१ को वित्तीय विवरणअनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ९९ रुपैयाँ १७ पैसा र प्रति शेयर नोक्सानी २१ पैसा रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij