
काठमाडौँ । ४ हजार ९४९ मिटरको उचाइसम्म बिजुली बत्ती पु¥याइएको छ । हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आपूर्ति गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ।प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचो तालमा बत्ती बालिएको जानकारी सार्वजनिक गरेका हुन् । विद्युत् पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्रका प्रमुख महतोले जनाए ।
मनाङको ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइसकिएको थियो । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij