Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा एक वर्षे कार्यप्रगति सार्वजनिक

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा एक वर्षे कार्यप्रगति सार्वजनिक

  • काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा एक वर्षे कार्यप्रगति सार्वजनिक गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा एक पत्रकार सम्मेलनको आयोजना गरी जनाइएको हो ।समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सघन रुपमा अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ असार ३१ गतेबाट कार्यभार सम्हालेको एक वर्ष पुरा भई सकेको छ। यस सरकारमा सहभागी भई सोहि दिनदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व लिएको पनि ठिक एक वर्ष पुरा भएको छ।

    d1.jpeg

    यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका निकायहरुको कार्य सम्पादनका बारेमा जानकारी दिन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।मन्त्रालय मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालय मार्फत सम्पादन भएका मुख्य कार्यहरु र हासिल भएका उपलब्धिहरुबारे जानकारी दिइएको छ ।

    यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, दातृनिकाय एवं कुटनीतिक क्षेत्रको पनि उल्लेखनीय सहयोग प्राप्त भएको छ। यस मन्त्रालयको विगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आ.व. २०८१/८२मा सवैभन्दा वढी ७६.४१ प्रतिशत प्रगति, जुन औसत राष्ट्रिय पूँजीगत खर्च भन्दा करिव १३ प्रतिशत बढी भएको जनाइएको छ ।  यसैगरी यहि अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सबै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको छ । यो एक वर्षको अवधिमा ९३० कि.मि. कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ कि.मि. कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीवृज जडान भएका छन ।

    मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको छ। आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाईएको छ।

    साथै आ.व. २०८०/८१ को मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको ठुलो रकम गत आ.व.मा भुक्तानी गरि गराई निर्माण व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गरिएको थियो। सवारी चालक अनुमति पत्र छपाई प्रदेश स्तरबाटै शुरुवात गर्न विषयगत समितिको बैठकबाट निर्णय भईसकेको छ। अब यो कार्य प्रदेश स्तरबाट नै हुने भएकाले लामो समय सम्म अनुमति पत्र नपाईने समस्याको अन्त्य हुने विश्वास गरिएको जनाइएको छ ।

    यसैगरी छपाई गरी वितरण गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाईका लागि सुरक्षण मुद्रण केन्द्रसँग समझदारी (MoU) भइसकेको छ । अव केही महिनामा नै छपाई गर्न बाँकी सबै सवारी चालक अनुमतिपत्र छपाई गरी वितरण गरिने छ । यहि अवधिमा सवारी चालक अनुमतिपत्रलाई नागरिक एपमा देखिने तथा विद्युतिय माध्यमबाट जाँच गर्न सक्ने, जरिवाना असुल तथा भुक्तानी गर्न सक्ने प्रवन्ध समेत गरिएकाले सवारी चालक अनुमति पत्रको रुपमा चिट बोकेर हिड्नु पर्ने वाध्यता अन्त्य भई सकेको छ ।

    पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न सर्वसाधारणको जग्गा रोक्का भई रहेको अवस्थामा नागरिकलाई परेको असरलाई मध्यनजर गरी रोक्का गरिएको जग्गा फुकुवाका लागि बजेट वक्तव्य मार्फत नीतिगत व्यवस्था गरिएको छ। रेलमार्ग विस्तारकालागि बर्दिवास क्षेत्रमा देखिएको मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधानका लागि काम अघि बढाईएको छ।

    समुद्रमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको छ। यसका लागि कानूनी जग बसाल्न तयार भएको पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधीसभामा पेश भएको छ । बाँकी आवश्यक कानून निर्माण गर्ने, सन्धि सम्झौताहरुको पक्षराष्ट्र हुने लगायतका प्रकृया अघि बढेका छन् भने नेपाल भित्रै कोशी, नारायणी तथा कर्णालीका थप स्थान र रुटमा जलयान सञ्चालनकालागि अध्ययनको काम पनि भई रहेको छ। सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन नयाँ राष्ट्रिय यातायात नीति, सवारी तथा यातायात व्यवस्था ऐन लगायतका कानूनी आधार खडा गर्ने काम अघि बढि सकेको छ।

     भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जारी गरेको विज्ञप्तिमा  विज्ञप्तिमा भनिएको छ ‘ समग्रमा, मन्त्रालयको यो एक वर्षको अवधि उपलब्धिमुलक तथा सफल भएको छ। सरकार तथा मन्त्रालयका गतिविधि एवं कार्यसम्पादनलाई सत्य-तथ्य रुपमा नागरिक समक्ष पुर्याउने समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको साथ र सहयोग महत्वपूर्ण रह्यो। आगामी दिनमा समेत यहाँहरुबाट यस्तै रचनात्मक सहयोगको अपेक्षा गरेको छु। साथै यस अवधिमा सहयोग र सहकार्य गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र सद्भाव रहने विश्वास लिएको छु। ’ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij