Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २  शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २  शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली , ९१.८६ प्रतिशत लक्ष्य प्राप्ति

    झापा ।  मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ ।

     

    यसअघि आव २०८०/८१ मा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९र८० मा रु १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।

    आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले रु एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आव २०८१र८२ मा रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व असुलीको लक्ष्य राखेको थियो । भन्सारका सूचना अधिकारी हुमागाईँले लक्ष्यको तुलनामा ९१ दशमलव ८६ प्रतिशत प्रगति भएको बताउनुभयो ।

    सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

    काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो ।

     

     

    गत आवका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । असार समान्तसम्ममा रू १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत बराबर हो ।

     

    चालु शीर्षकमा गत आवका लागि रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ८५ दशमलव ९५ प्रतिशत अर्थात् रू नौ खर्ब ८० अर्ब २८ करोड २१ लाख खर्च भएको छ ।

    स्थापनाको १० वर्ष पूरा गर्दै प्रभु हेलिकप्टर, आईपीओ निष्कासनको तयारीमा

    काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ, सहयोग र विश्वासप्रति सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

     

    सन् २०१५ ९वि.सं. २०७२० मा प्रभु ग्रुपले तत्कालीन मुक्तिनाथ हेलिकप्टरको सम्पूर्ण सेयर खरिद गरी ‘प्रभु हेलिकप्टर’का नाममा सञ्चालनमा ल्याएको हो। कम्पनीले नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको छ। सुरुमा एक वटा रोबिन्सन हेलिकप्टरबाट सेवा थालेको कम्पनीले हाल दुई वटा एयरबस ज्ज्ञद्दछ हेलिकप्टरमार्फत नियमित उडान सेवा दिइरहेको छ।

    कैलाली भन्सारद्वारा आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ६६ करोड राजस्व संकलन, लक्ष्यको ७७.६७% मात्र

    अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो ।

     

    आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ ।

    बिहीबार बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन, रकमान्तर तथा कार्यक्रम संशोधनलगायतका विषयमा के गर्न हुने र के गर्न नहुने भनेर स्पष्ट पारेको हो । वित्तीय पारदर्शिता, जवाफदेहिता र अनुगमनसम्बन्धी व्यवस्थाका लागि जिम्मेवार भएर काम गर्न पनि मन्त्रालयले परिपत्र गरेको छ ।

    गत वर्ष सेयर कारोबारबाट सरकारलाई साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर

    काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२मा सेयर कारोबारबाट सरकारलाई साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । सरकारले प्राप्त गरेको १६ अर्ब ५४ करोड पुँजीगत लाभकर  अघिल्लो वर्षको तुलनामा तीन गुणा पुँजीगत लाभकर बढी हो ।सेयर कारोबारबाट सरकारले आव २०८०/८१ मा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्ष सेयर बजारले कारोबारमा कीर्तिमान बनाएसँगै राजस्व संकलन समेत हालसम्मकै धेरै भएको हो।

     

    गत आवमा सबैभन्दा धेरै साउनमा सेयर बजारले एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार सहित रेकर्ड बनाएको थियो। त्यतिखेर नेप्से सूचक ३००० विन्दुमा पुगेको थियो।आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यो कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो।

    हिमालयन लाइफ इन्स्योरेन्सद्वारा चाबहिलमा ७५ करोडभन्दा बढीको जग्गा खरिद

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवसायिक प्रयोजनका लागि काठमाडौंको चाबहिलस्थित ३ हजार ६८८.२० वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँ खर्चेर खरीद गरेको छ।

    कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त गरी असार ३० गते खरीद सम्झौता सम्पन्न गरेको हो। खरिद गरिएको जग्गाको मूल्य ७२ करोड रुपैयाँ रहेको छ भने रजिष्ट्रेशन शुल्कमा मात्रै ३ करोड ८१ लाख ६० हजार रुपैयाँ खर्च भएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ।

    कामना सेवा विकास बैंकको चौथो त्रैमासको नाफा ६३ करोड नाघ्यो, वितरणयोग्य नाफामा ४८%वृद्धि

    काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सबैभन्दा पहिला सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ। साउन २ गते सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ६३ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले वृद्धि हो।

    अघिल्लो वर्ष सो अवधिसम्म बैंकले ५८ करोड १८ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो। गत वर्षको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा करिब ४८ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्ष ४१ करोड १२ लाख रुपैयाँभन्दा बढी थियो।

    कालिका लघुवित्तको ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    पोखरा । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूका लागि ३९ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। निलकण्ठ उप्रेतिको नाममा रहेको उक्त शेयर केवल विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    शेयर खरीदमा इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, पोखरा–कास्कीमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। तोकिएको समयसीमा भित्र पर्याप्त आवेदन नपरेमा कम्पनीले ती शेयरहरू अन्य व्यक्ति वा संस्थाहरूमाझ विक्री गर्ने जनाएको छ।

    पुँजी बजारमा ऐतिहासिक सफलता: एक वर्षमै २१ खर्बको धितोपत्र कारोबार

    काठमाडौँ । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

     

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१/८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०/८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । यसअघि आव २०७७र७८ मा सबैभन्दा धेरै (अर्थात् रु १४ खर्ब ५४ अर्ब ४४ करोड)को कारोबार भएको थियो ।

    हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

     

    अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटाँैडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैँ साथमा रहने विश्वास दिलाउनुभयो ।

    शुक्रबार  सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम

    काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य  अघिल्लो दिनको तुलनामा  तोलामा २ सय रुपैयाँ बढेको छ । शुक्रबार  प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको हो ।बिहीबार पनि सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा आइपुगेको थियो।

    एक करोडको नेपाली गलैँचा तेस्रो मुलुक पुग्यो, १०० जनालाई रोजगारी

    वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । 

     

    उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि  भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

    “करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ”, लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो । 

     

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij