Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

२.५० अर्ब हिनामिना प्रकरण: मुख्य आरोपी नेकपा नेतादेखि राष्ट्र बैंकका पूर्वकर्मचारीसम्म फन्दामा

२.५० अर्ब हिनामिना प्रकरण: मुख्य आरोपी नेकपा नेतादेखि राष्ट्र बैंकका पूर्वकर्मचारीसम्म फन्दामा

  • काठमाडौँ। कर्णाली विकास बैङ्क घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल राष्ट्र बैङ्कका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौँको टोखा क्षेत्रबाट बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ।

    सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) युवराज खड्काका अनुसार बस्नेत कर्णाली विकास बैङ्कको अनुगमन अधिकृतका रूपमा कार्यरत रहँदा घोटालामा प्रत्यक्ष संलग्न भएको प्रमाण फेला परेको छ। यसअघि पनि यस प्रकरणमा बैङ्कका विभिन्न उच्चपदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन्।

    यस घोटालामा बैङ्कका संस्थापक तथा तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्रलाई सीआईबीले असार १८ गते नेपालगञ्जबाट पक्राउ गरेको थियो। मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत हुन्। उनी वि.सं. २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार भई पराजित भएका थिए।

    त्यस्तै, बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रविक्रम रायलाई जेठ १७ गते र लेखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई जेठ २० गते प्रहरीले पक्राउ गरेको थियो।

    प्राप्त जानकारीअनुसार बैङ्कमा करिब रु २ अर्ब ५० करोडको हिनामिना भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्। यस विषयमा अनुसन्धान गर्न सीआईबीको विशेष टोली बाँकेमै खटिएको छ। अनुसन्धानका क्रममा हालसम्म घोटालासँग सम्बन्धित उच्च तहका अधिकारीहरूलाई पक्राउ गरिँदै आएको छ।

    प्रहरीका अनुसार दोषी ठहरिएमा उनीहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। अनुसन्धान अझै जारी रहेको र थप संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रयास भइरहेको जानकारी प्रहरीले दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij