Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

ईश्वरीय तत्त्व र श्रावण महिना

ईश्वरीय तत्त्व र श्रावण महिना

  • यतिवेला साउन महिना लागि सकेको छ। अझ असारकै अन्तिम सोमवार व्रतालुहरूले साउनकै सोमबार मानेर व्रत लिइसकेका छन्। किनकी पाँच सोमवार व्रत लिएर शिवजीको पूजा अर्चना गर्नु विशेष हुनेकुरा जानकारहरु बताउँछन्। कुरो के पनि हो भने हामी चान्द्रमास अथवा चन्द्रमाको पृथ्वीलाई परिक्रमा गराई अनुसार नै मान्दछौं। हाम्रो पात्रोमा चन्द्र‌माको परिक्रमानुसार हरेक दिन एक नक्षत्रले तय गर्दछ। अश्विनी, भरणी, कृतिका यसरी नै त्यसोगर्दा सताइस दिनको एक चान्द्रमास हुन्छ। यस हिसाबले असारमै श्रावणले छोइसकेर होला व्रतालुहरू साउनकै व्रत लिइरहनु भएको देखिन्छ।

    साउन महिना खास गरेर पृथ्वीको सूर्यलाई परिक्ररमा गर्ने अण्डाकार कक्षमा उत्तर तिरबाट दक्षिणाभिमुख (दक्षिणायन) हुने समय पनि हो। यो समयलाई कर्कट संङ्क्रान्ति मनिन्छ। यस्ता दुईवटा विन्दु छन् जो माघी सङ्‌क्रान्तिमा उत्तराभिमुख (उत्तरायण) हुने गर्दछ। साउने संक्रान्तिमा मकर रेखामा आउँदछ। यो साउन खास गरेर पानीको महिना हो। जल प्रवाह बेसरी नभैकन वनस्पतिहरु बाँच्न हुर्कन र बढ्न सक्दैनन्। वनस्पति नभए जीवजन्तुको सम्भावना हुँदै हुँदैन। वनस्पति र जन्तुमा तादात्म्यता छ।

    यो साउन लागेपछि पृथ्वीमा प्राणीहरूको प्रवलता पनि बढ्दछ। किनभने जलले अन्न फलफूल, तरकारी र अनेक खानयोग्य वनस्पतिहरुको वृद्धि हुन्छ अनि जनावारहरूले प्रशस्तमात्रामा खान पाउँछन्। पानीको सतह जमीन भित्र पनि बढेर टनाटन हुन्छ। तराईमा पाहाडमा जस्तो प्राकृतिक धाराबाट पानी प्रयोग गर्न सकिँदैन। पानी प्रशस्त परेर जमिन मुनि रह्यो भने चाँपा कल इनार र मोटरबाट तानेर सुख्खा याममा प्रयोग गर्न सकिन्छ।

    यही पानीका कारण चारैतिर वनजङ्गल र कृषि बालीनालीले धर्ती शोभायमान छ। अन्न अनाजको उत्पादन नभै जीव जन्तुको प्राण रक्षा हुँदैन। त्यसर्थ यी दृश्यले मानव मन खुसी हुन्छ, आल्हादित बन्छ। यो प्रकृति नै दैवी तत्त्व हो। यसैमा सृष्टि छ. स्थिति छ र संहार तत्त्व छ। त्यसैले हामी ब्रह्मा विष्णु र शिवलाई ईश्वर मान्दछौं। यो ईश्वरीय उपहारबाट हामी अत्यन्त हर्षित छौं। नार भनेको पानी रहेछ। त्यसैले विष्णु भगवान पनि पानी कै रूपमा छन्। कोही शिवको, कोही विष्णुको स्तुतिमा निमग्न छन्। आफ्नो आफ्नो ग्रन्थले जे भनेपनि हामी मुख्यतः यिनै तीन ईश्वरका उपासक हौँ। श्रावणमा हामी विशेष शिवजीको उपासना गर्दछौं। शास्त्रहरूमा शिवस्यः हृदयाम विष्णु, विस्णुस्यः हृदयाम शिव भनिएकोबाट यी शिव र विष्णु दुबै एकै भगवत तत्त्व हुन् ।

    अहिले बजारतिर हेर्ने हो भने नारीहरू पहेलै र हरियै देखिन्छन्। के यसमा केही सत्यता नहोला ! अवश्य पनि पृथ्वीको हरियालीका प्रतीक हुनसक्छन् यी चुरा र पोते। अझ कपडा पनि हरियै लाउने गरेको देखिन्छ। नारीहरु पनि सृष्टिका अत्यन्त नजिकका मानव हुन्। उनीहरू पूज्य भएमा देवता पनि रमाउँछन् भन्न भनाई छ। यिनीहरु पनि पक्कै ईश्वरीय रूप हुनु पर्दछ। नारी शक्ति नहने हो भने के सृष्टि रहला त ? पक्कै विचारणीय कुरा छ।

    साउन पानीकै महिना हो। पानी हाम्रो जीवन हो। जीवको उत्पत्ति सिद्धान्तमा आध्यात्मबाद र भौतिकवाद दुबैले पानीको सहारा लिएको पाइन्छ। भागवत्मा पनि एउटा अण्ड हजार वर्ष रहँदा त्यसमा चेतना पलाई प्राणीको सृष्टि सुरुभएको कथा उल्लेख भएको छ। यसैगरेर भौतिकबादी बैज्ञानिक चार्लस डार्विनले पनि पानीमै एक कोषीय जीव उत्पत्ति मैं यिनको बिस्तारै बहुकोषीय, सौरेश्रूप, उभयचर स्तनधारी, वानर र मान्छे विकास भएको बताउँछ। त्यो सृष्टिको आदिम काल न आध्यात्मबादीले देखे न त भौतिकबादीले। पछि लेखिएका शास्त्रलाई आध्यत्मवादीले र वज्ञानिक आधारलाई भौतिकवादीहरूले स्विकारे। वास्तवमा कुरो आध्यात्मको पनि अर्को अकाट्य सत्य पाइए त्यसलाई आध्यात्मवादी स्विकार गर्लान् । भौतिकवादीहरु त विश्वसनीय अर्को सिद्धान्त पाउँदा स्विकारी हाल्दछन् ।
    यो साउन महिनामा धेरै ईश्वरीय उपासन गर्ने तिथिहरु आउँछन्। नागपञ्चमी, ऋषितर्पणी जस्ता तिथिहरु पर्दछन्। हामी नागलाई पनि देवता मानेर पूजा गर्दछौं। यो पर्वको पनि महत्त्वता निकै ठूलो छ। त्यसैगरेर तागाधारीहरूले ऋषिपूर्णिमा पनि विशेष मान्छन्। जनै लगाउनेले जनै र अरुले रक्षावन्धन पनि लिने गर्छन्। भारततिर दिदी बनीले दाजु भाइलाई राखी लगाई दिने चलन हुन्छ। धेरथोर नेपालमा पनि छ। आध्यात्मलाई नजिकबाट हेर्ने र बुझ्ने तत्त्वदर्शि ऋषिहरू नै हुन्।

    बोलवम भन्दै देश भरिका तीर्थमा पित बस्त्र धारण गरेर योगिको रूपलिई एउटा तीर्थको पानी अर्कोमा र अर्कोको अर्कोमा मिलाउँदै शिवोपासना गरेर श्रावणमा अध्यात्म आर्जन गर्ने पनि धेरै छन्। भारत सरकारले त यस्ता बोलबम यात्रीलाई ठाउँमा बस्ने खानेको प्रवन्ध गरिदि एको हुन्छ।

    साउन महिना शिवजीको सर्वप्रिय मैना हो, शिव पूजन गर्ने महिना हो। स्कन्ध पुराणमा शिवजीको पूजा विधि रहेको छ। शिव पुराणमा त शिवको महिमाको विस्ततृत व्याख्या नै छ । शिवजीलाई कल्याणकारी भगवान पनि भनिन्छ ।। आँशुतोष पनि भनिन्छ। किनकी भगवान शिव भक्तले गरेको भक्तिबाट चॉडैनै प्रशन्न हुनुहुन्छ । श्रावण महिनामा जन्मनेलाई शिशुलाई श्रावणी पनि भनिन्छ। जनै पूर्णीमामा जन्मने छोरीको नाम श्रावणी राखिने गरिन्छ। साउनमा बन्ने विभिन्न शुभ संयोगको कारण शिव भक्तका लागि यो महिना अत्यन्त सौभाग्यशाली रहन्छ।

    शिवपूजन गर्दा शिवलिङ्ङ्गमा ग‌ङ्गाजल, दूध, वेलपत्र, भाङ, चन्दन अक्षता, दही, सेतोफूल अर्पण गरी पूजा अर्चना गरिएमा जीवनमा सुख समृ‌द्धिको आगमन हुन्छ। मनले चिताएका कामना पूर्ण हुन्छन्।हामी सवैले एक चित रही होस गरेर शिवभगवानलाई स्मरण गरी पूजापाठ गर्यो र हाम्रा व्यवहारिक काम गर्यो भने अवस्य हामीले सफलता पाउँदछौं। शास्त्रहरूले 'सत्यम् वद 'भनेको त्यसै होइन। जे कुरापनि सत्य संझेर, ध्यान दिएर, एकाय भएर तन मन दिएर गरियो भने हामी कहिल्यै पनि असफल हुने छैनौं। ईश्वरीय साहारा भनेको पनि यै जस्तो लाग्छ !

    शिव पुराणमा शिवजीका बाहू ज्योतिर्लिङ्ग रहेका स्थानहरु यसप्रकार उल्लेख गरिएकोछः-
    सौराष्ट्र सोमनाथं च श्री शैले मल्लिकार्जुन,
    उज्जयिन्यां महाकालमोंकारे परमेश्वरम्।
    केदारं हिमवत्पृष्ठे डाकिन्या भिमशङ्करम्.
    वाराणस्यां च विश्वेशं त्र्यम्बकं गौमतीतटे।
    वैद्यनाथं चिताभूमौ नागेशं दारुकावने,
    सेतुवंदे च रामेशं घुश्मेशं च शिवालये।

    सौराष्ट्रमा सोमनाथ, श्री शौलमा मललिकार्जुन, उज्जयिनीमा महाकाल कारक्षेत्रमा परमेश्वर, हिमालयको शिखरमा केदारनाथ, डाकपनीमा भीमशंकर, वाराणासीमा विश्वेश्वर, गौमती नदीको किनारमा त्र्यम्बकेश्वर, चिताभूमिमा वैद्यनाथ, दारुकवनमा नागेश, सेतुवन्धमा रामेश्वर तथ शिवालयमा घुश्मेश्वर गरेर बाह्न शिव ज्योतिर्लिंग रहेका छन्। नित्य विहान यी शिवलिंगको नाम स्मरण गर्नाले चिताएका सम्पूर्ण कुराहरू पूरा हुन्छन् भन्ने मान्यता रहेको छ।

    श्रीरामचरित मानसमा- गोस्वामी तुलसीदासले शिवजीको स्तुति यस प्रकार गर्नु भएको छ,

     यस्याङ्‌ङ्के च विभाति भूधरसूता देवापगा मस्तके आले बालविधुर्गले च गरलं यस्योरसी व्यालराट्। सोऽयं भूति विभूषणः सुरवर सर्वाधिपः सर्वदा शर्वः शर्वगतः शिवः शशिनिभः श्रीशंकरः पातु माम्।

    जसका काखमा हिमाचल पर्वतकी छोरी पार्वती छन्, शिरमा ग‌ङ्गाजी, ललाटमा ‌द्वितीयाका चन्द्रमा उन्, घाँटीमा हलाहल विषको नीलो डाम, वक्षस्थलमा शेषनाग सुशोभित छन्, उनी खरानी धसेका, देवतामा श्रेष्ठ, सर्वेश्वर संहार कती ( भक्तको पापनाशक), सर्वव्यापक, कल्याणरूप, चन्द्रमाको समान शुभ्रवर्ण भएका श्रीशिवजी सधैं मेरो रक्षागरून् भनेर लेखु भएको छ। यसर्थ शिवजी सबैका कल्याण गर्ने ईश्वर हुनुहुन्छ र साउन महिनामा विभिन्न तरिकाले र अन्य सबैदिन उनको ईश्वरीय महिमा गाइन्छ।

    यस प्रकार पनि विचार गर्दा पौराणिक कालभन्दा अगाडि आदिकालदेखि नै भगवान शिवलाई महतपूर्ण ईश्वरको रूपमा मानिएको छ। यी जेजति भइरहेका हुन्छन् त्यो सवकुरा समयले हुन्छ। यसको निर्धारण भगवान शिवले गरेको हुन्छ भनिन्छ। ईश्वर कृपा नभई केही कुरा हुँदैन। सुरमनिदेखि भुसुनासम्म यी सवमा ईश्वरको कृपा रहेकोछ। यो दिन रात हुनु, पृथ्वी चन्द्र, यह, तारागणण घुम्नु, ऋतु परिवर्तन हुनु र नियारमानुसार यी सबै कुरा हुनु भौतिकबादको कारण या आफै या प्राकृतिक रूपले हुन सक्दैन। या दैवका पनि देव महादेवको कृपा हो भन्ने सन्दर्भ आध्यात्म ज्ञानबाट जानकारी हुन्छ । अस्तु !!

    चेरब भवन, भक्तपुर
    सन्दर्भ सामग्री
    (क) शिव पुराण
    (ख) रामचरितमानस
    (ग) भागवत
    (घ) जीव विज्ञान
    (ङ) गुगल सर्च

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij