Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ४ आइतबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ४ आइतबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ४ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा २.८७ अंकले घटेर २८६७.७६ विन्दुमा ,२१ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २.८७ अंकले घटेर २८६७.७६ विन्दुमा आएको छ ।  यस दिन २१ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

    शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद शेयर निष्कासनको अनुमति

    काठमाडौँ। दोस्रो बजारमा सूचीकृत दुई कम्पनी, शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेड ले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएका छन्। दुवै कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेका हुन्।

    शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ९१स्१ अनुपातमा० निष्कासन गर्ने स्वीकृति पाएको छ। यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ।

    आज शाइन रेसुङ्गा बैंकको डिबेञ्चरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं ।  ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्रमा आवेदन दिने म्याद आज (आइतबार) सकिँदैछ। बैंकले यो ऋणपत्र वार्षिक ८ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिका लागि निष्काशन गरेको हो। १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो।

     

    यस ऋणपत्रमा प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गरेको छ।

    तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन ११ सम्म बढाइयो

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समयसीमा साउन ११ गतेसम्म थप गरिएको छ। यसअघि साउन ४ गते नै अन्तिम म्याद तोकिएको भए पनि मागअनुसार आवेदन नपरेकोले धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले आवेदन म्याद एक साता थप गरेको हो।

    कम्पनीले असार १६ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेको हो। यसअघि नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हालको ४० करोड रुपैयाँ चुक्ता पुँजीको १:१ अनुपातमा, अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

    आज हिमालयन बैंकको एफपीओमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू ९एफपीओ० मा आवेदन दिन आज (आइतबार) अन्तिम दिन हो। बैंकले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने कानुनी प्रावधानअनुसार एफपीओ निष्काशन गरेको हो।

     

    एफपीओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँबाट बढेर २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ पुग्नेछ। हाल बैंकमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पु(याउनका लागि बैंकले १५७ रुपैयाँ प्रतिकित्ताको दरमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको हो। यसमा १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपिएको छ।

    मनसुनमा सेवा अबरुद्ध नहोस् : विद्युत् र सञ्चार प्राधिकरणलाई कमाण्ड पोस्टको आग्रह

    काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ । 

     

     

    कमाण्ड पोष्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेका सन्दर्भमा सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत् र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।

    भौतिक पूर्वाधार मन्त्रालयले गर्‍यो ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक निर्माण कार्यका लागि अनुमति प्राप्त तर २०७८ साल चैतसम्म नविकरण नगरेका ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ।

    मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) बमोजिम नविकरण नगरिएका कम्पनीहरूमाथि कारबाहीस्वरूप इजाजतपत्र खारेज गरिएको जनाएको हो।

    ‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’

    काठमाडौँ । मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ ।

     

     

    प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा तेस्रो विश्वव्यापी आवधिक समीक्षा (युपिआर) प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनको अवस्था र चौथो समीक्षा तयारीबारे छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तुत विवरणअनुसार तेस्रो समीक्षाका अधिकांश सुझाव नेपालले कार्यान्वयन गर्न सकेको छैन भने आगामी चौथो समीक्षाका लागि पर्याप्त पूर्वतयारीसमेत भएको छैन ।

    सिराहा कारागारका कैदीबन्दीहरूबीच झडप हँदा दर्जन बढी घाइते

    जनकपुरधाम  । सिरहा कारागरमा कैदीबन्दीहरू बीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर  भएको उक्त  झडपमा १३ जना कैदीबन्दी घाइते भएको जनाइएको हो । 

     

    सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।

    सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

    काठमाडौं । सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तभरण कोषमा १५ अर्ब रुपैयाँ जम्मा

    काठमाडौं। कर्मचारी सञ्चय कोषबाट सञ्चालित  योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने कार्यालय तथा संस्थाको संख्या ४ हजार नाघेको  छ।कोषका अनुसार सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र संगठित संस्थाहरूको संख्या असार मसान्तसम्म ४ हजार २९० पुगेको हो ।ती कार्यालय तथा संस्थाका ९९ हजार ३९१ योगदानकर्ताबाट गत असारसम्म १५ अर्ब रुपैयाँ योगदानमा आधारित निवृत्तिभरण कोषमा जम्मा भएको छ।बैंक तथा वित्तीय क्षेत्रबाट योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्धताका लागि सम्पर्क गर्ने क्रम बढेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

    लाभांश वितरणसम्बन्धी नयाँ व्यवस्था, यस्ता छन् शर्तहरू

    काठमाडौँ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मागदर्शन २०८२ सार्वजनिक गरिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नरले २०८२ असार ३२ गते स्वीकृत गरेको उक्त मार्गदर्शन आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

     

    लाभांश वितरणका पूर्व शर्तहरूमा ६ वटा शर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।लाभांश घोषणा  गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको , संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, शेयर प्रियमयम एवं बार्गेन परचेज गेनबाट नगद लाभांश घोषणा गर्न पाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेट वर्थ ऋणात्मक नरहेको , नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको , संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरू(लोन कनभेनान्ट्स)ले लाभांश वितरण  बन्देज गरेको अवस्था नरहेको र यस(राष्ट्र बैंक)बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणको क्रममा वित्तीय दायितव सिर्जना  हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको शर्त रहेको जनाइएको छ ।

    हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

    हा लङ बे ।भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।

     

     

    भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।

    जापानको माथिल्लो सदनको चुनाव, प्रधानमन्त्री इशिबाको परीक्षा

    टोकियो ।आइतबार संसदको माथिल्लो सदनको निर्वाचनमा बहुमत गुमाउनसक्ने अपेक्षाबीच जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मतदानको सामना गरिरहनुभएको छ । 

     

    माथिल्लो सदनका २४८ सिटमध्ये आइतबार १२५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । गठबन्धनलाई बहुमत कायम राख्न यीमध्ये ५० वटा आवश्यक पर्छ ।

    एलडिपी फन्डिङ स्क्यान्डलको व्यवस्थापन र संयुक्त राज्य अमेरिकासँग कुनै व्यापार सम्झौता नभएको खण्डमा अगस्ट १ देखि २५ प्रतिशतको अमेरिकी कर वृद्धिको बारेमा लामो समयदेखि पार्टीमा असन्तुष्टी बढेको छ।

    नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल भक्तपुरमा आधुनिक CT Scan सेवाको उ‌द्घाटन

    काठमाडौँ । नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक CT स्क्यान (Computed Tomography Scan) सेवा सञ्चालनमा ल्याएको   घोषणा गरेको छ ।  आइतबार   एक विशेष समारोहका बीच यस सेवाको उ‌द्घाटन गरिएको हो ।

    पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

    पर्वत ।  पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । 

     

    उहाँले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उहाँको भनाइ छ ।

    आइतबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

    गत शुक्रबारको मूल्य १ लाख ९२ हजार ५०० रुपैयाँ रहेको थियो। यससँगै सुनको मूल्य पछिल्ला चार दिनदेखि लगातार वृद्धि भएको छ, जसले सुनमा लगानी गर्ने वा किन्ने तयारीमा रहेका उपभोक्तामा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

    देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा अलि उत्तरतिर सरेको छ, जसका कारण वर्षाको प्रभाव बढेको छ।

     

    मौसमविद् विनोद पोखरेलका अनुसार केही समय निष्क्रियजस्तो देखिएको मनसुन अब पूर्वी नेपालबाट पुनः सक्रिय भएको छ। उनले आइतबार बिहानसम्म चुरे र पहाडी क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना औँल्याएका छन्।

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij