Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत, ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पूरा हुने चरणमा पुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रुकोे चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्यलाई तीव्रता  दिएको हो । मनसुनको समयमा पनि कामलाई तीव्रता  दिइएकाले निर्धातिर मितिमै काम सम्पन्न हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार  यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो । अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ ।

    2 (2).jpg

    धावन मार्ग भन्दा ७५ मिटरभित्रको क्षेत्र अत्यधिक ‘सुरक्षा संवेदनशील क्षेत्र’ रहेकोले गत वैशाखसम्म ५ महिना राती १० घण्टा विमानस्थल बन्द गरेर  काम गरिएको थियो । उडान रोकेको भन्दै प्राधिकरणको त्यतिबेला आलोचना भएको थियो । राति उडान रोकेपनि विमानस्थलको आय र यात्रुको संख्या गतवर्षको भन्दा कमी आएको छैन् । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र एप्रोनलाई उत्तरतर्फको रन–वेसँग जोड्ने ट्याक्सी–वे निर्माण भइरहेको छ । यो काम चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनलले गरिरहेको छ । दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय विमान पार्किङ (एप्रोन), पूर्वतर्फ ह्याङ्गर क्षेत्रको निर्माण कार्य आगामी पुसमा सकिने छ । 

     निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय जहाजको पार्किङ क्षमता ११ बाट १८ मा पुग्ने छ । त्यस्तै धावन मार्गको क्षमतामा पनि २५ प्रतिशतले वृद्धि भइ एयर ट्राफिक व्यवस्थापन सहज हुने अधिकारीको विश्वास छ । ट्याक्सी वे र अन्य संरचनाको विस्तारपछि विमानस्थलको यात्रु क्षमता करिब १ करोड पुग्ने अनुमान छ । विमानस्थलबाट अहिले दैनिक तीन सय उडान भइरहेका छन् । दुई वर्षदेखि जारी स्तरोन्नतिको कार्य बीचमा रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण पश्चिम तर्फको काम भने अहिले रोकिएको छ । आयल निगमको डिपो स्थानान्तरणका लागि प्राधिकरणले उत्तर तर्फ जमिन उपलब्ध गराइसकेको छ । निगमले डिपो सारेलगत्तै पश्चितर्फको समानान्तर ट्याक्सीवेले पूर्णता पाउने छ । विमानस्थलका यी आयोजना सकिएसँगै प्राधिकरणले अन्तराष्ट्रिय यात्रु टर्मिनल अत्याधुनिक सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ । ३००० मिटर लामो रहेको धावन मार्गको यसअघि नै स्तरोन्नति गरि ३३०० मिटर बनाइ सकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij