Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

माओवादी अध्यक्ष दाहालको चेतावनी : “पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र जारी, एकजुट हुनुपर्ने समय”

माओवादी अध्यक्ष दाहालको चेतावनी : “पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र जारी, एकजुट हुनुपर्ने समय”

  •  

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र आफ्ना नेतृत्वविरुद्ध योजनाबद्ध ढंगले षड्यन्त्र भइरहेकाले सबै नेता, कार्यकर्ता र समर्थक एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

    गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्ला केही समययता माओवादी आन्दोलन र यसको नेतृत्वलाई कमजोर बनाउने प्रयास पुनः सुरु भएको बताएका हुन्। उनले यसअघि भएका षड्यन्त्रहरूको झल्को दिँदै भने, “पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ। त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानी गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम गरिरहेका छन्।”

    उनका अनुसार माओवादी केन्द्र नेतृत्वको सरकारले जनमुखी कार्यक्रममार्फत जनसमर्थन बटुल्न थालेको देखेपछि दलाल, माफिया र केही नोकरशाही समूहले मिलेर सरकारलाई हटाउने षड्यन्त्र रचिएको थियो। “हामी सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिको बाटोमा सरकार अगाडि बढाइरहेका थियौं, जनविश्वास बढ्दै थियो, त्यसैले सरकारबाट हटाइयो,” उनले भने।

    सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र सुशासन र सामाजिक न्यायका मुद्दामा सक्रिय रहेकाले सोही कारण पार्टी र नेतृत्वविरुद्ध अझ गहिरो षड्यन्त्र भइरहेको उनले बताए। उनले चैत १५ गतेको जनसभा र अन्य खबरदारी कार्यक्रमहरूले जनमत निर्माणमा ठूलो प्रभाव पारेको बताए। “त्यसले प्रतिक्रियावादीहरूलाई झन् आतंकित बनाएको छ,” अध्यक्ष दाहालको भनाइ थियो।

    हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा लाखौं जनताको सहभागीता र संवादबाट पार्टीप्रतिको समर्थन बढ्दै गएको उल्लेख गर्दै उनले भने, “यस्ता कार्यक्रमहरूले राष्ट्रिय तहमा पार्टीप्रति सकारात्मक माहोल बनाएको थियो, जुन देखेर पुराना शक्ति फेरि सक्रिय भएका छन्।”

    अध्यक्ष दाहालले अब पार्टी आगामी निर्वाचनमा एक्लै जान तयार भइरहेको स्पष्ट गरे। “हामीले एक्लै लड्दा चुनाव जितेका छौं। अब २०८४ सालको चुनावमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ,” उनले भने। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको भन्दै प्रचण्डले भविष्यमा यस्तो सहकार्य नगर्ने संकेत गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij