Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

प्रधानमन्त्रीको बोरिङ घोषणापछि विद्युत प्राधिकरण सक्रिय, निर्देशक शाक्य स्वयं फिल्डमा

प्रधानमन्त्रीको बोरिङ घोषणापछि विद्युत प्राधिकरण सक्रिय, निर्देशक शाक्य स्वयं फिल्डमा

  •  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं विद्युत आपूर्तिको अवस्था बुझ्न फिल्डमा खटिएका छन्।

    चितवनको आपूर्ति प्रणालीको निरीक्षणपछि शाक्य जनकपुरधाम पुगेका छन्, जहाँ उनले मधेस प्रदेशका विभिन्न वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरेका छन्। बैठकमा सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाहीलगायत जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखहरू सहभागी थिए।

    निर्देशक शाक्यका अनुसार, बोरिङ जडान हुने स्थानमा विद्युत आपूर्ति कसरी सुनिश्चित गर्ने भन्ने विषयमा रणनीतिक छलफल गरिएको हो। यद्यपि, कुन स्थानमा बोरिङ हुने, कति पम्प जडान हुने र ती पम्पहरूको क्षमता कस्तो हुने भन्ने स्पष्ट जानकारी सम्बन्धित निकायबाट अझै नआएको उनले बताए।

    शाक्यले भने, 'सिंचाईका लागि अब करिब डेढ महिना मात्र बाँकी छ, त्यसैले अहिले नै योजना, स्थान र आवश्यकताको विवरण दिन सम्बन्धित पक्षहरूलाई आग्रह गरिएको छ।' किसानहरूको समस्या राष्ट्रिय समस्या भएको उल्लेख गर्दै उनले समाधानका लागि प्राधिकरण पूर्ण रूपमा तयार रहेको बताए।

    सिंचाईका लागि सरकारले अनुदान दिने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको वास्तविक लागत आठ रुपैयाँ भए पनि, किसानलाई प्रतियुनिट तीन रुपैयाँमै उपलब्ध गराउने शाक्यले घोषणा गरे। साथै, 'अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकिने गरी तयारी भइरहेको'जानकारी पनि उनले दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij