Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

रुसमा शक्तिशाली भूकम्प, अमेरिका र जापानसहितका देशमा सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्प, अमेरिका र जापानसहितका देशमा सुनामीको चेतावनी

  • काठमाडौं ।  रुसको पूर्वी तटपारि क्षेत्रमा बुधवार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रायद्वीपका धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ।अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो।

    जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ, जहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ।रुसको जीओफिजिकल सर्भिसका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ।विगत १० दिनमा सोही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो। जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ।

    ट्रम्पको अनुरोध
    यूएसजीएसका अनुसार आगामी तीन घण्टामा रुस र जापानका तटहरूमा खतरनाक सुनामीका लहरहरू पुग्न सक्छन्।अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेका छन्।

    यूएसजीएसले जोखिममा रहेका तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशनबमोजिम कदम चाल्न सुझावसमेत दिएको छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हवाईमा आउने सुनामीबारे जारी गरिएको चेतावनी र अलास्का तथा अमेरिकी प्यासिफिक तटबारे दिइएको सुझाव सम्बन्धमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।उनले सामाजिक सञ्जाल ट्रूथ सोसल तथा एक्समा पोस्ट गर्दै मानिसहरूलाई "दह्रो तथा सुरक्षित रहन" अनुरोध गरेका छन्।

    अर्कोतर्फ जापानका क्याबिनेट सेक्रेटरीले देशको उत्तरी हिस्सामा आएको सुनामीबाट अहिलेसम्म हताहतीको कुनै विवरण प्राप्त नभएको बताएका छन्।त्यहाँ पहिलो सुनामी होकाइदोमा आएको विवरणमा जनाइएको छ।
    रुसमा कैयौँ घाइते
    रुसमा गएको भूकम्पमा परी थुप्रै व्यक्तिहरू घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचारसंस्था तासले जनाएको छ।झ्यालबाट हाम फालेकी एक महिलासहित सुरक्षित स्थानमा जाने क्रममा केही व्यक्ति घाइते भएका छन्।सो क्षेत्रका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले घाइते सबै "सन्तोषजनक अवस्थामा रहेका" बताएका छन्।"गम्भीर घाइतेबारे अहिलेसम्म कुनै विवरण आएको छैन," उनले भने।

    बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले "कम्तीमा आउने महिनामा ७.५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएको" बताएका छन्।कहाँकहाँका लागि चेतावनी ?
    यी स्थानहरूको हकमा सुनामीको चेतावनी जारी गरिएको छः

    • जापानः होकाइदोदेखि क्युशुका तटीय क्षेत्रहरूमा सुनानी आउने चेतावनी जारी गरिएको छ
    • सबै अमेरिकी वेस्ट कोस्ट
    • अलास्काको दुर्गम अलुशन आइल्यान्ड्स
    • हावाई
    • गुआम (बीबीसी न्यूज नेपालीबाट)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij