Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

उद्योग दर्ता संख्याको तुलनामा अर्थतन्त्रको उत्पादकत्व असरहीन

उद्योग दर्ता संख्याको तुलनामा अर्थतन्त्रको उत्पादकत्व असरहीन

  • काठमाडौँ । उद्योग दर्ता संख्याको तुलनामा अर्थतन्त्रको उत्पादकत्व असरहीन देखिएको छ ।गत आर्थिक वर्ष २०८१/८२ उद्योग विभागमा ७०० वटा नयाँ उद्योग दर्ता भएका छन्। २ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका यी उद्योगद्वारा  ३५ हजार १ सय ७४ जनाका लागि  रोजगारी उपलब्ध हुने  प्रतिबद्धता जनाइएको हो  ।गत आवमा दर्ता भएकामध्ये ६८ वटा ठूला उद्योग रहेका छन् । २ खर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएका ठूला उद्योगले ८ हजार ५सय २७ जनालाई रोजगारी दिने प्रतिबद्धता उद्योग विभागसमक्ष गरेका छन्।

    विभागले ५० करोडभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला उद्योगको रूपमा वर्गीकरण गरेको छ। गत आवमा दर्ता भएका ठूला उद्योगको कुल स्थिर पुँजी १ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।  यसैगरी गत आवमा ५४ वटा मझौला र ५ सय ७८ वटा साना उद्योग दर्ता भएका छन्। उद्योग विभागले १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएकालाई साना र ५० करोडसम्म भएकालाई मझौला उद्योगको रूपमा परिभाषित गरेको छ।

    अघिल्लो आव २०८०/८१ मा दर्ता भएका ४ सय ३४ उद्योगले ७ हजार ३ सय ३० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए। यी उद्योगले कुल २ खर्ब १८ अर्ब लगानीको प्रस्ताव गरेका थिए। आव २०७९÷८० मा ३ सय २२ उद्योग दर्ता भए।  यी उद्योगले २ खर्ब १४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गर्दा २३ हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए ।

    आव २०७८/७९ मा ३ सय ९ उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब ५५ करोड लगानीको प्रस्ताव गरिएको थियो। यी उद्योगले २८ हजार ५ सय २७ जनालाई रोजगारीको प्रतिबद्धता जनाएका थिए।११ वर्षअघि आव २०७०/७१ मा ३ सय ७१ उद्योग दर्ता हुँदा २ खर्ब ८९ अर्ब रुपैयाँ लगानी प्रस्ताव र २१ हजार ५सय ३८ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको थियो ।

    यसरी हरेक वर्ष सयौँ उद्योग दर्ता हुने गर्छन्। उद्योग विभागको  तथ्यांकअनुसार पछिल्लो दशकमा मात्रै ५ हजार १५ उद्योग दर्ता भएका छन्। यसबाट करिब  ४० खर्बको लगानी प्रस्ताव भएको देखिन्छ । यी उद्योगले २ लाख ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको प्रस्ताव गरेका छन्।

    यसरी हरेक वर्ष नयाँनयाँ उद्योग दर्ता हुने सरकारी आकडा भए पनि वास्तविकतामा भने यसको प्रभाव खासै देखिएको छैन। दर्ता भएअनुसारको आर्थिक प्रगति मुलुकको अर्थतन्त्रमा देखा परेको देखिँदैन् ।विश्व बैंकको २०२० को प्रतिवदेनअनुसार नेपालमा हरेक वर्ष ५ लाख नयाँ जनशक्ति श्रमबजारका लागि योग्य हुन्छ । तर औसतमा ४० हजारले पनि रोजगारी पाउँदैनन्। जसले गर्दा विदेशिने युवाको संख्या बर्सेनि बढ्दो छ ।

    पछिल्ला केही वर्षमा वार्षिक साढे ७ लाख युवाले नयाँ तथा पुनःश्रम स्वीकृति लिएर विदेश जाने गरेका छन्। जसले वर्षमा १४ खर्ब हाराहारी रेमिट्यान्स पठाउँछन्।केन्द्रीय तथ्यांक कार्यालयको अध्ययनअनुसार पनि अधिकांश उद्योग दर्ता हुने गरेको पुष्टि हुन्छ। कार्यालयको तथ्यांकअनुसार अघिल्ला दुई आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक थियो । आव २०७९÷८० मा उद्योग क्षेत्र १.७० प्रतिशत र २०८०/८१ मा २.०२ प्रतिशतले ऋणात्मक देखियो ।

    यी दुई आवमा क्रमशः ३ सय २२ र ३ सय ३४ उद्योगले दर्ताको प्रमाणपत्र लिए । गत आव २०८१÷८२ मा भने ३.७८ प्रतिशतको वृद्धि हुने तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ। यो आवमा भने अघिल्लो आवभन्दा दोब्बर ७०० उद्योग दर्ता भएका छन्।
    तथ्यांक विश्लेषकहरूका भनाइ अनुसार उद्योग दर्तामात्रै हुने तर अधिकांश सञ्चालनमा नै आउने गरेको छैन् । विश्लेषकहरूका अनुसार सुरू भएकामध्ये पनि अधिकांश उद्योग १ देखि २ वर्षमात्रै चलेर बन्द हुने गरेको देखिन्छ। करको दायरा विस्तार, राजस्व संकलनको न्यून वृद्धिदर र आन्तरिक उत्पादनको अवस्थाले पनि यसको  पुष्टि गर्छ।

    उद्योग विभागले  उद्योग दर्ता प्रवृतिबारे जनाए अनुसार पछिल्लो दशकमा  पर्यटन र उत्पादनमुलक उद्योगको संख्या बर्सेनि वृद्धि भइरहेको  देखिन्छ। त्यसका साथै पछिल्ला केही वर्षदेखि सूचना प्रविधि क्षेत्रका उद्योगको संख्यामा पनि देखिने गरी वृद्धि भएको  छ।
    तथ्यांकअनुसार गत वर्ष २ सय ३५ पर्यटन उद्योग, १ सय ८५ सूचना प्रविधि क्षेत्रका, १ सय १० सेवामुलक र १सय ६ उत्पादनमुलक उद्योग रहेका छन्। केही वर्षअघिसम्म कृषि तथा वन क्षेत्रमा आधारित उद्योगको हिस्सा धेरै हुने गरेको थियो। गत आवमा त यो क्षेत्रका जम्मा १२ उद्योगमात्रै दर्ता भएको देखिन्छ ।

    आव २०८०/८१ मा पनि सबैभन्दा धेरै पर्यटन क्षेत्रका उद्योग दर्ता भएका छन्। यो आवमा पर्यटन क्षेत्रका १३७ उद्योग दर्ता भए। दोस्रो ठुलो समूह सेवामुलक क्षेत्रको रहेको छ । सेवामूलक  ११८ र उत्पादनमुलक उद्योग १ सय ७ उद्योग दर्ता भएको देखिन्छ । सूचना प्रविधि क्षेत्रका २१, कृषि तथा वनसँग सम्बन्धित १६ वटा भएका छन् ।

    २०७९/८० दर्ता भएका ३ सय २२ मध्ये उत्पादनमुलक उद्योगको हिस्सा १ सय १४ रहेको देखिन्छ। यसैगरी पर्यटन क्षेत्रका ६७, सेवाका ६६ र सूचना प्रविधिका १६ र कृषि क्षेत्रका ९ उद्योगमात्रै दर्ता भए।२०७८/७९ मा पनि कुल दर्ता भएका ३सय ९ मध्ये उत्पादनमुलक ११६, पर्यटन क्षेत्रका ५८, सेवामुलक ४६ , कृषिका २१ र सूचना प्रविधि क्षेत्रका ११ वटा उद्योग दर्ता भएका थिए।

    यसको ८ वर्षअघि आव २०७०/७१ मा कृषि तथा वनजन्य उद्योग ४६ , वटा सेवा क्षेत्रका   ९९,उत्पादनमुलक  ९६ र पर्यटन क्षेत्रका ८४ उद्योग दर्ता भएका थिए। २०७०/७१  र आव २०७१/७२  मा आइटी क्षेत्रका उद्योग दर्ता नभएको देखियो । आव २०७१/७२   दर्ता भएका ४ सय ६२ मध्ये १४५ पर्यटनका, १३५ सेवाका ९० उत्पादनमुलक र  ५० कृषिजन्य उद्योग रहेका थिए।  पछिल्ला वर्षमा आइटी क्षेत्रमा दर्ता हुने क्रम बढेको देखिन्छ । आइटी क्षेत्रको वृद्धिको क्रम २०८०/८१ मा वृद्धिदर ४.९१ र २०७९/८० मा ४.१५ प्रतिशत रहेको पाइन्छ । 
    पर्यवेक्षकहरूका अनुसार प्रस्तुत तथ्यांकका आधारमा दर्ता भएका उद्योगहरू सञ्चालनमा आएको भए अर्थतन्त्रको उत्पादकत्वको अवस्था धेरै हुने थियो । तुलनात्मकरूपमा जो कोहीले दर्ता संख्याको आधारमा अर्थतन्त्रको उत्पादकत्व असरहीन रहेको उनीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij