काठमाडौँ । चालु आर्थिक वर्ष (आव)मा पुँजीगत खर्चमा बढ्नुको साटो भारी गिरावट देखिएको छ । गत आवको तुलनामा चालु आवको हालसम्ममा सरकारले गर्नुपर्ने पुँजीगत खर्च घटेको देखिएको हो ।अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु कार्तिक १८ गते (मङ्गलवार) सम्म २२ अर्ब पुँजीगत खर्च भएको छ । छुट्टाइएको पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब बजेट विनियोजन मध्ये २२ अर्ब खर्च भएको छ । गत आवको सोही अवधिमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।
सरकारले पुँजीगत बजेट दीर्घकालीन योजनामा लगानी गर्छ । सडक, पुल, विद्यालय, अस्पताल, सिँचाइ, ऊर्जा परियोजना निर्माण वा विस्तारका लागि खर्च गरिने बजेट खर्च हो । यस किसिमको खर्चले देशको उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धि बढाउँछ । पुँजीगत खर्च विकासको गति जनाउने सूचक पनि हो ।
जेनजी आन्दोलनपछि बढ्दो अनिश्चितता र असुरक्षाको कारणले निर्माण व्यवसायीहरूले विकासका कामहरूमा तीव्रता दिन चाहेका छैनन् । अर्थतन्त्र बुझेको अर्थमन्त्री रहँदा पनि विकास खर्चमा देखिएको समस्याहरू हटाउन उनले चासो नदेखाउँदा विकासको गति सुस्त बनेको पर्यवेक्षकहरूको आकलन हो ।
अर्कोतर्फ चालु खर्च भने बढेको सरकारी तथ्यले देखाउँछ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार कार्तिक १८ गते (मङ्गलवार) सम्म २ खर्ब ८२ अर्ब खर्च भएको छ । गत आवको यो अवधिमा चालु शीर्षकमा यो वर्ष ११ खर्ब ४० अर्ब छुट्टाइएको बजेटमध्ये २ खर्ब ६४ अर्ब खर्च गरेको थियो ।
गत आवको सोही अवधिमा केही खर्च चालु शीर्षकमा खर्च बढेको देखिएको छ । चालु खर्च भनेको नियमित सञ्चालन खर्च हो । सरकारले कर्मचारी तलब भत्ता, कार्यालय खर्च, प्रशासनिक सेवा लगायतमा खर्च गर्ने गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij