
काठमाडौँ ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास नगर्न चेतावनी दिइएको छ ।उद्योगी व्यवसायीहरूको तर्फबाट यस्तो चेतावनी दिइएको हो ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताएर यस्तो चेतावनी दिएका हुन् ।
नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा अध्यक्ष ढकालले ऐनमा संशोधनको प्रस्तावअनुसार जस्ताको त्यस्तै पारित भएमा उद्योग धन्दा नै बन्द गर्नुपर्ने अवस्था आउने बताए । साथै उनले त्यसबाट आर्थिक गतिविधिमा गम्भीर असर पर्ने खतरा रहेको बताउँदै यसबारे नीति निर्मार्ताहरूलाई गम्भीर हुन आग्रह गरे ।
उनका अनुसार बाफियासम्बन्धित ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्तावमा राखिएको परिभाषामा पुनःलेखन गर्नुपर्छ । ढकालले आर्थिक विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताए । उच्चस्तरिय आर्थिक आयोग गठन, आयोगको सुझावअनुसार विभिन्न ३० वटा कानूनहरुको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको बताउँदै अध्यक्ष ढकालले बाफिया संशोधन प्रस्तावबारे यस्तो चेतावनी दिए ।
उनका अनुसार देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण आवश्यक रहेको निजी क्षेत्रले बताउँदै आएको छ । वर्तमान सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरु स्वागतयोग्य रहेको छ । आव २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहक मानी आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । महासंघ आशावादी र उत्साहित भएको छ ।
अध्यक्ष ढकालका अनुसार व्यवसायी र बैंकर छुट्याउने भन्ने विषयले अर्थतन्त्रमा समस्या पार्नसक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भनी ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिममा पर्छन् ।
नेपालमा पर्याप्त सम्भावना रहेको छ । यी सम्भावनाहरूबाटै आर्थिक समृद्धिको खाका कोर्न सकिन्छ । नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानुपर्ने छ । देश विकाको लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन आवश्यक रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij