
काठमाडौँ । ऊर्जा सम्मेलन (पावर समिट)२०२५ को निर्धारित मिति परिवर्तन भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) को विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन गरिएको हो । यस अघि तय भएको मिति १ र २ असोज, २०८२ को पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागीता हुने भएकोले पावर समिटको मिति पछाडि सारिएको इप्पानले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ ‘ अब पावर समिट, २०२५ साविकै स्थान सोल्टी होटलमा आगामी ‘२९ र ३० असोज, २०८२ अर्थात १५–१६ अक्टोबर, २०२५ मा आयोजना हुनेछ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करणको नारा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ रहेको छ । ’
पावर समिटको मिति परिवर्तनबाट हाम्रा सेवाग्राही र सहभागीहरुमा पर्न गएको असुविधाप्रति इप्पान क्षमयाचना गर्दै इप्पानले विज्ञप्तिमा भनेको छ ‘ नयाँ मितिमा हुने पावर समिटको बाँकी सबै एजेण्डाहरु समान नै रहेकोले यसलाई भव्यरुपमा सफल बनाउन सम्वद्ध सबै सरोकारवाला निकायको साथको अपेक्षा गर्दछौ । ’
इप्पान अनुसार सरकारले अघि सारेको सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुरयाउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुरयाउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य रहेको छ । पावर समिटको नवौं संस्करण आयोजना गर्न लागेको अवगत गराउँदै इप्पानले यसमा सबैको साथ र सहयोगको लागि पनि अनुरोध गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्की , महासचिव बलराम खतिवडा पावर समिट, २०२५ संयोजक, आनन्द चौधरीको संयुक्त विज्ञप्तिमा भनिएको छ ‘ यो समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व प्राप्त भएको छ भने कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको छ । प्रधानमन्त्रीबाट समिटको समुद्घाटन गराउने लक्ष्य राखिएको छ ।
नेपालको हरित ऊर्जा नेपालको समृद्धिको मात्र वाहक नभइ, एशियाकै आर्थिक विकासको पूर्वाधारको रुपमा उपलब्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि आन्तरिक तथा बाह्य क्षेत्रमा के कस्ता रणनीतिहरु लिन तथा बनाउन आवश्यक छन् भन्ने विविध विषयहरुमाथि समिटमा छलफल हुनेछ ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij