
गण्डकी।नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ । गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले तालिममा ३० जना पर्वतीय पर्यटनका पथप्रदर्शक सहभागी रहेका जनाउँदै उहाँहरूलाई सैद्धान्तिकसँगै विज्ञबाट अधिकतम प्रयोगात्मक सीप प्रदान गरिने बताउनुभयो ।
पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पोखरामा रहनुभएका तीन हजार पर्वतीय पर्यटनका प्रथप्रदर्शकमध्येबाट ३० जना छनोट गरी यस किसिमको तालिम दिन लागिएको जानकारी दिनुभयो । सङ्घको गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरेले पर्वतीय पर्यटनमा जाने पथप्रदर्शकले प्राथमिक उपचार, नक्सा पठनलगायत अत्यावश्यक विषयमा प्रभावकारी ज्ञान हासिल गरेमा उहाँहरूले आफू र सँगै जाने पर्यटकलाई सम्भाव्य जोखिमबाट बचाउन सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार तालिमअन्तर्गत सहभागीलाई स्थलगत रूपमा लगेर प्रयोगात्मक अभ्यास गराउने कार्यसूची रहेको छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij