
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १८ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
शेयर बजार : नेप्से परिसूचकमा ६५.२० अंकले घटेर २८५७.४३ विन्दुमा ,१३ अर्ब ०७ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६५.२० अङ्कले घटेर २,८५७.४३ विन्दुमा झरेको छ। यो गिरावट २.२३% को हो, जुन हालसालैको एक उल्लेखनीय गिरावट हो। बजार दिनभर ओरालो क्रममा नै रह्यो, विशेषगरी दिउँसोपछि बिक्री चाप बढेपछि सूचक अझै घटेको देखिन्छ।
आजको कारोबारमा १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ। कुनै पनि कम्पनीको शेयर मूल्य अपरिवर्तित रहेन। कुल कारोबार रकम रू. १३ अर्ब ७ करोड नाघेको छ भने कुल कारोबार शेयर संख्या ३२ लाख २६ हजार ९४१ रहेको छ।
सडक विस्तार गर्दा सुरक्षाको विषय अनिवार्य समेटिन्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताउनुभएको छ ।
आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल(नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उहाँले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताउनुभयो ।
सिवाईसी नेपाल लघुवित्तले ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा कमायो, २०८% वृद्धि
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा २०८.४४ प्रतिशत ले वृद्धि भएको हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो।
नाफा वृद्धिको मुख्य कारण कम्पनीको खुद ब्याज आम्दानीमा ४१.३० प्रतिशत को वृद्धि र सञ्चालन नाफामा २५० प्रतिशतभन्दा बढी को उल्लेखनीय वृद्धि हो। गत वर्ष कम्पनीले ४५ करोड ३ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गर्दा सञ्चालन नाफा १६ करोड २७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। साथै, इम्पेरमेन्ट चार्ज पनि अघिल्लो वर्षको २ करोड २१ लाख रुपैयाँभन्दा घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ, जसले समेत नाफा वृद्धि गर्न योगदान पुर्याएको छ।
झापा इनर्जी लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) खरीद गर्ने आज साउन १८ गते अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ सार्वजनिक गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्कासन गरिरहेको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।
निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ ।
आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”
सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा ढिलाइ : सात वर्षमा ३७% प्रगति, समयमै सम्पन्न हुनेमा आशंका
नुषाधाम । तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त छ ।
राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्झौताको सात वर्ष बित्दासमेत हालसम्म करिब ३७ प्रतिशत मात्र काम भएको छ ।
बागमती प्रदेशअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–८ ढुङ्गे्रबाँस९खुर्कोट०स्थित सुनकोशी नदीबाट सुरु भएको उक्त डाइभर्सन आयोजनामा हालसम्म ३६ दशमलव ८३ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । नेपाल सरकार र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार २०७६र०७७ देखि २०८५र०८६ अर्थात् १० वर्षमा आयोजनाको काम सम्पन्न हुनुपर्नेछ, तर आयोजनाअन्तर्गत दोस्रो चरणको काम ढिलो भएपछि समयमै पूरा हुनेमा शङ्का व्यक्त गरिएको छ ।
भिजिट भिसाबारे समाजमा गलत दृष्टिकोण बन्दै गएकोमा अध्यागमन विभागद्वारा चिन्ता व्यक्त
काठमाडौँ । भिजिट भिसाबारे समाजमा गलत दृष्टिकोण बन्दै गएकोमा अध्यागमन विभागद्वारा चिन्ता व्यक्त गरिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा हुने अनियमितता मानव तस्करी नभएको बताउँदै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसामा देखिएको समस्या कुशासन र अनियमितताको विषय भए पनि त्यसलाई मानव बेचबिखनजस्तो सङ्गठित अपराधको परिभाषाभित्र राख्न नहुने बताए ।
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताउनुुभएको छ ।पूर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत ः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुुभयो ।
संघीय निजामती सेवा विधेयक छानबिन समितिको म्याद सकिँदै, प्रतिवेदन तयारीमा तीव्रता
काठमाडौँ ।संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटि छानबिन गर्न गठन गरिएको विशेष समितिको म्याद आइतबार सकिँदैछ, जसका कारण समितिका सदस्यहरू अन्तिम तयारीमा व्यस्त भएका छन्।
आज बिहानैदेखि समिति सदस्यहरू छलफलमा जुटेका थिए। बिहान ७:३० बजेदेखि सुरु भएको बैठक करिब १२ बजेसम्म निरन्तर चल्यो। त्यसपछि करिब दुई घण्टाको विश्रामपछि फेरि छलफल सुरु गरिएको हो।
बंगलादेशसँग पनि व्यापार घाटा , गत आवमा करिब पौने पाँच अर्बको मालवस्तु आयात
भद्रपुर । गत आर्थिक वर्ष २०८१÷८२ मा बंगलादेशबाट करिब पौने पाँच अर्बको मालवस्तु आयात भएको छ । गत आवमा पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७२ करोड चार लाख १८ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको हो ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी सार्वजनिक गरे अनुसार बङ्गलादेशबाट सबैभन्दा बढी दुई अर्ब ६५ करोड ८७ लाख ४५ हजार रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।
मधेस प्रदेशमा यातायातबाट सवा ३ अर्ब बढी राजस्व संकलन
जनकपुरधाम ।मधेश प्रदेशमा यातायातबाट सवा तीन अर्ब बढीको राजस्व संकलन भएको छ । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले गत आर्थिक वर्ष २०८१÷८२ मा ३ अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ रूपैयाँ कुल राजस्व संकलन गरेको हो । मन्त्रालयले सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकमा मन्त्रालयअन्तर्गतको आठ जिल्लाको कार्यालयबाट उक्त राजस्व संकलन भएको जनाएको छ ।
उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड
काठमाडौँ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली अव्यवस्थित रहेको बताउनुभयो । उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उहाँको भनाइ छ । सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण बढेको मन्त्री दाहालले उल्लेख गर्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij