
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मौजुदा समयमा जलविद्युत क्षेत्रमा लगानी गर्ने विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पार्दै यस्तो आवश्यकतामा जोड दिएका हुन् ।
शाक्यका अनुसार राति र दिउँसोको बिजुलीको डिमान्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भयो भने धेरै खर्च गरेर जलविद्युत (हाइड्रो ) बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरूमा विद्युत्को खपत त्यति रहेको छैन् । सोलर, ब्याट्रीले साँझ, बिहानको विद्युत्को आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको कथन छ । उनले यो ठुला जलविद्युतका हकमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
शाक्यले सिँचाइ हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताउँदै त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्ने बताए ।त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएको छ । तराई, पहाडतिर सिँचाइमा सोलर जोडिनुपर्ने उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जनाए अनुसार हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने नभइ हाम्रो डिमान्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमान्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुप¥यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत् प्राधिकरणले बत्ती राख्दिने गरेपनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत् बक्यौता नतिर्ने गरेको बताए । उनकाअनुसार बजेटमा नगरहरूले बक्यौता भुक्तानी व्यवस्था गर्ने गरेका छैनन् । अब पालिकाहरूले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने छ । प्रसारण लाइनका नजिक सोलर राख्ने र प्रसारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको छ । पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा सुरु भइसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij