
नयाँ दिल्ली । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानीविरुद्ध मनि लण्डरिङसम्बन्धी छानबिनको सिलसिलामा लुक आउट नोटिस जारी गरेको छ। मंगलबार १० घण्टा लामो बयानपछि उक्त सूचना जारी गरिएको हो।
ईडीको कारबाहीपछि देशभरका अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरू र सीमा नाकाहरूमा उच्च सतर्कता अपनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस्तो नोटिस तब जारी गरिन्छ जब कुनै अभियुक्त देश छोडेर भाग्न सक्ने आशंका गरिन्छ।
रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीविरुद्ध ३० अर्ब भारतीय रुपैयाँ अपचलनको आरोपमा उजुरी परेपछि ईडीले छानबिन थालेको हो। छानबिनको क्रममा अम्बानीसम्बद्ध थुप्रै उद्योग तथा व्यवसायिक संस्थामा छापा मारिएको थियो।
मंगलबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म अम्बानीसँग ईडीले सोधपुछ गरेको थियो। त्यसपछि तुरुन्तै लुक आउट नोटिस जारी गरिएको छ, जसले ईडी उनको बयानबाट सन्तुष्ट नभएको संकेत गर्छ। सम्भावित गिरफ्तारीको डरले उनी विदेश भाग्न सक्ने आशंकामा यस्तो कदम चालिएको बताइएको छ।
अनिल अम्बानी भारतका धनी उद्योगपति मुकेश अम्बानीका भाई हुन् र विगतमा भारतका शीर्ष व्यापारिक समूहमध्ये एक रिलायन्स ग्रुपको नेतृत्व गरिरहेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij