Logo

Aug 09 2025 | २०८२, साउन २४गते

Aug 09 2025 | २०८२, साउन २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २३ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २३ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २३ शुक्रबार यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको रकम ४ खर्ब

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको रकम  ४ खर्बमा झरेको छ । शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएपछि  केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो ।

    बिहीबार केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ६९ अर्ब रुपैयाँ बक्यौता रहेकोमा  यो रकम शुक्रबार घटेर ४ खर्ब १५ अर्बमा झरेको हो । बिहीबार केन्द्रीय बैंकले लिएको स्थायी निक्षेप सुविधा अन्तर्गतको २ खर्ब ५४ अर्ब रुपैयाँ फिर्ता गरेपछि बक्यौता रकम घटेको हो ।

    केन्द्रीय बैंकले स्थायी निक्षेप परिपक्व हुने दिन सार्वजनिक बिदा परेको खण्डमा अघिल्लो दिनै फिर्ता गर्ने गर्छ । सोही अनुसार आइतबार सार्वजनिक बिदा भएका कारण बिहीबारको स्थायी निक्षेप आइतबार परिपक्व हुनुपर्नेमा शुक्रबार नै फिर्ता गरिएको छ ।शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको रकम  ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो ।

    जीवन बीमा व्यवसायमा १ खर्ब ८१ अर्बको कारोबार, अग्रणी स्थानमा नेपाल लाइफ

    काठमाडौं । देशका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, जीवन बीमा कम्पनीहरूको व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सले पुनः अग्रता कायम राखेको छ।

    कुल जीवन बीमा बजारमध्ये नेपाल लाइफले मात्र २६.४८ प्रतिशत हिस्सा ओगट्दै ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ। यसले कम्पनीलाई जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो खेलाडी बनाएको छ।

    विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न रास्वपाको अभियान घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ।

    शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रवासी नेपालीका नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै मताधिकार अभियानलाई पार्टीको साङ्गठनिक अभियानसँग जोड्ने निर्णय गरेको हो।

    पार्टीका प्रवक्ता डा. मनिष झाका अनुसार, सभापति रवि लामिछानेमाथि लागेको राजनीतिक प्रतिशोधको विरोधमा जारी अभियानलाई अझ व्यापक बनाउने रणनीति पनि बैठकले तय गरेको छ।

    सेवा आयातमा डलर सटही नियम संशोधन, १५ हजार डलरसम्मका लागि नियामक सिफारिस आवश्यक नपर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारत बाहेकका मुलुकबाट हुने सेवा आयातका लागि डलर सटही सुविधा बढाएको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायका लागि जारी एकीकृत परिपत्र, २०८१ संशोधन गर्दै राष्ट्र बैंकले अब एक पटकमा ८ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा दिने व्यवस्था गरेको हो।

    अब नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाहरूले प्रतिपटक ८ हजार डलरभन्दा बढी सेवा बापतको भुक्तानी गर्नुपरेमा नियामक निकायको सिफारिस वा स्वीकृति अनिवार्य हुने छ। साथै, १५ हजार अमेरिकी डलरभन्दा बढीको सेवा आयात गर्दा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट पूर्व स्वीकृति अनिवार्य गरिएको छ। यसअघि यो सीमा १२ हजार डलर थियो।

    त्यस्तै, नियामक निकाय नभएको वा सिफारिस दिन नसकिएको अवस्थामा पनि ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक हुने व्यवस्था गरिएको छ। १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा विदेशी बैंकको बैंक ग्यारेन्टी पनि अनिवार्य हुनेछ।

    मेरोमाइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १५ रुपैयाँ नाघ्याे

    काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४८.२९ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ५७ लाख रुपैयाँ थियो। नाफा वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नु हो।

    समीक्षा अवधिमा:

     
    • खुद ब्याज आम्दानी १९.१३% ले वृद्धि भएको छ,

    • खुद फि तथा कमिशन आम्दानी १.२३% ले बढेको छ,

    • कुल सञ्चालन आम्दानी १७.३६% ले बढेको छ,

    • सञ्चालन मुनाफा ५३.४८% ले उकालो लागेको छ।

    शुक्रबार सुनको मूल्य झन्डै २ लाख नजिक, चाँदी तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढ्दै झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।

    त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सिद्धार्थ बैंकले लोभलाग्दो प्रगति ,बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत

    काठमाडौं । सिद्धार्थ बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१र८२ मा खुद नाफा २०।२४ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर ८ अर्ब ४४ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १५ प्रतिशत बढेर १ अर्ब ६४ करोड रुपैयाँ, सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढेर ११ अर्ब १६ करोड रुपैयाँ गरेको छ ।

    एनएमबि लघुवित्त नोक्सानीबाट नाफामा, वार्षिक ६ करोड ३८ लाख रुपैयाँ कमाई

    काठमाडौँ ।एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्ष ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तले यस वर्ष उल्लेखनीय सुधार गर्दै ६ करोड ३८ लाख रुपैयाँ को खुद नाफा कमाएको छ।

     

    बैंकका अनुसार, खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेरमेन्ट चार्ज रिभर्स भएको कारण यो नाफा सम्भव भएको हो।

    समीक्षा अवधिमा लघुवित्तको:

    • खुद ब्याज आम्दानी: ६१.८३% ले वृद्धि

    • खुद फि तथा कमिशन आम्दानी: ४२.२५% ले वृद्धि

    • सञ्चालन मुनाफा: ५९.२२% ले वृद्धि

    • अघिल्लो वर्ष ऋणात्मक ५ करोड ३२ लाख रहेको सञ्चालन मुनाफा अब धनात्मक ६ करोड ८८ लाख रुपैयाँ पुगेको हो।

    सिद्धार्थ बैंकको मुनाफा २२० प्रतिशतले उकालो, १३.२२% सम्म लाभांश दिन सक्ने आधार

    काठमाडौँ ।सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै उल्लेखनीय वित्तीय उपलब्धिहरू हासिल गरेको जनाएको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

    बैंकले डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको भए पनि १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्था निर्माण भएको छ। अघिल्लो वर्ष सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो।

    समीक्षा अवधिमा बैंकको कुल मुनाफा पनि १०.२४ प्रतिशत ले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ८ करोड रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij