काँक्रेविहार। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसबीच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ ।
दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको आज सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले जानकारी दिनुभयो ।
उहाँले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताउनुभयो । कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताउनुभयो ।
“सत्ता गठबन्धनमा खटपट भएको भनेर खरब आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ”, उहाँले भन्नुभयो ।
बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी हुनुहुन्थ्यो ।