Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

काठमाडौं महानगरको पानीको जार अनुगमन अभियानमा २७१ जार नष्ट, कम्पनीलाई गुणस्तर सुधार र लेबल अनिवार्य गर्ने कडा निर्देशन

काठमाडौं महानगरको पानीको जार अनुगमन अभियानमा २७१ जार नष्ट, कम्पनीलाई गुणस्तर सुधार र लेबल अनिवार्य गर्ने कडा निर्देशन

  • काठमाडौं – बर्खायाममा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ। एक साताभित्रको अनुगमनमा मापदण्ड विपरीतका २७१ जार बरामद गरी नष्ट गर्न महानगर प्रहरीले जिम्मा लिएको छ।

    आषाढ र साउन महिनामा मात्र १३९ गाडीबाट ४५६ मापदण्ड विपरीतका जार बरामद गरिएका थिए। ती जार तत्काल नष्ट गर्न निर्देशन दिइएको छ। साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

    चालु आर्थिक वर्षको सुरुदेखि बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायत स्थानमा चेकपोस्टमार्फत खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको छ। न्यौपानेका अनुसार बर्खायाममा मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीलाई कडा निर्देशन दिने कार्य भइरहेको छ।

    साउन २० गते बल्खु क्षेत्रमा गरिएको अनुगमनमा ८ वटा सवारी साधन जाँच गर्दा ५९ जार मापदण्ड विपरीत भेटिए। त्यसैगरी, साउन २१ गते चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ सवारी साधनको जाँचमा ६७ जार, साउन २३ गते माछापोखरी–बालाजु क्षेत्रमा २० सवारी साधनको जाँचमा ६८ जार, र साउन १८ गते कोटेश्वर क्षेत्रमा १५ सवारी साधनको जाँचमा ७७ जार बरामद गरिएका थिए।

    महानगरले पानी उत्पादक कम्पनीहरूलाई जारमा स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा राख्न र गुणस्तरमा संवेदनशील हुन निर्देशन दिएको छ। साथै, महानगरले जारमा राखिएको पानी उमालेर मात्र पिउन आम नागरिकलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij