
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २७ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ बिन्दुमा, करिब ७ अर्ब रुपैयाँको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (साउन २८ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से २४.७१ अंकले घटेर २७९७.७४ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.८७ प्रतिशतको गिरावट देखाएको छ।
आज कूल ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच भएका छन् भने कूल ७८ हजार २२६ कारोबार सम्पन्न भएका छन्।
आज २४ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने २२५ कम्पनीका सेयर घटेका छन्। १ कम्पनीको मूल्य भने यथावत् छ।
गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो ।
रोकिएन ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको चोरी तस्करी, अग्रवाल बाउछोराको वीरगञ्जदेखि काठमाडौँसम्म मौलाउँदो ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको कारोबार, के हेर्दै छ अनुसन्धान विभाग?
वीरगञ्ज /काठमाडौँ । नेपालीहरूको प्रमुख चाडहरू नजिकिएसँगै ड्राइफ्रुट्स र मसलाजन्यवस्तुहरूको चोरी तस्करी तीव्र भएको छ । मुख्यतया दक्षिणी सीमा क्षेत्रबाट ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको चोरी तस्करी तीव्र भएको हो । नेपाल भारतबीच साढे १७ सय किलोमिटर लामो खुला सीमा क्षेत्रको फाइदा उठाउँदै ड्राईफ्रुट्स र मसला र अन्य मालवस्तुहरूको चोरी तस्करी बढेको व्यापारीहरूकै भनाइ छ ।
चाडवाडमा अत्याधिक ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको कारोबार हुने भएपछि अहिले मुख्यतः पर्साको वीरगञ्जलगायतका खुला सीमा नाका, बाराका विभिन्न खुला नाका, सर्लाहीका विभिन्न खुला सीमा क्षेत्र ,महोत्तरीका विभिन्न खुला नाका, सिराहाका विभिन्न खुला सीमा क्षेत्र , रुपन्देही, कपिलवस्तु, बाँकेलगायतका सीमावर्ती जिल्लाका विभिन्न खुला सीमा नाकाहरूबाट ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको चोरी तस्करी हुने गरेको स्वय्म ड्राईफ्रुट्सका व्यापारीहरू नै बताउँछन् । खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी भएर ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरू प्रहरी र राजस्व अनुसन्धान विभागले पक्राउ गरिएपनि ड्राईफ्रुट्सको अवैध चोरी तस्करी झनै् मौलाएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुन्छ । ग्राहक महानुभावहरुले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेपछि उनको राजीनामाका बारेमा दबाब बढ्दै गइरहेको थियो । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।
कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्ने राष्ट्रियसभाका सांसदहरूको माग
काठमाडौँ।राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुननसकेको बताउनुभयो । नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाउनुभयो । राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो ।
नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौँ । नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ ।
कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा प्रविधिले अर्थतन्त्र, समाज र शासनलाई तीव्र गतिमा पुनर्गठन गरिरहेको बताउनुभएको छ । नेपालको लागि डिजिटल क्रान्ति अँगाल्नु विकल्प मात्रै नभई आवश्यकता भएको उहाँले बताउनु भयो । प्रविधिको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउने उहाँको भनाई छ ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक, भिम बहादुर गोलेको टिमलाई समर्थनको आह्वान
काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ।
सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था कायम गराउन, कोभिड–१९ को समयमा लगाइएका जरिवाना छुट गराउन, बैंकद्वारा लिलामीको प्रक्रियामा रहेका व्यवसायीको हित रक्षा गर्न, र पर्यटन क्षेत्रमा भ्याक्सिनको व्यवस्था गर्न जस्ता कार्य सम्पन्न गरेको उल्लेख गरिएको छ।
नवीकरण रोकिएका वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु
काठमाडौँ । नवीकरण रोकिएका वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले बर्सेनि सय कामदार वैदेशिक रोजगारमा पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु गरेको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले मंगलबारदेखि नवीकरण सुरु गरिएको जनाएका हुन् ।
दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजतपत्र रद्द गरिने कानुनी व्यवस्था हालै केही नेपाल ऐन संशोधन मार्फत खारेज गरिएपछि नवीकरण सुरु भएको जनाइएको छ ।
एमआरपी बिना कारोबार गरेकाले नेपाल लेदर क्राफ्ट र रोयल क्लास कलेक्सनलाई जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिवाना तिर्न लगाएको छ ।विभागको अनुगमन टोलीले सोमबार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना तिराएको हो । साथै विभागले दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।
हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२ करोड बढी
काठमाडौँ । गोल्छा समूहको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२ करोड बढी भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरिए अनुसार फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा करिब १२ करोड बढी भएको हो । यो अवधिसम्म आउँदा यस कम्पनीले खुद नाफा १२१.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षमा यस कम्पनीले २१ करोड ७८ लाख रुपैयाँभन्दा खुद नाफा आर्जन गरेको देखिन्छ ।
सार्वजनिक गरिएका सात बैंकहरूको नाफा गतवर्षको तुलनामा करिब ५ अर्ब बढी
काठमाडौँ । सार्वजनिक गरिए अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ७ वाणिज्य बैंकको नाफा करिब साढे २० अर्ब रुपैयाँ रहेको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा ७ वाणिज्य बैंकहरूले गरेको नाफा २० अर्ब ४६ करोड २ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
साउन २६ गतेसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये ७ वाणिज्य बैंकलेमात्र गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती सात बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ९१ करोड २७ लाख ९७ हजार रुपैयाँमात्र नाफा कमाएका थिए ।
हिमालयन बैंकको नाफा २२.१५% वृद्धि, चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी
काठमाडौं । हिमालयन बैंक लिमिटेड (HBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष सो नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानीमा ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानीमा ६०.९८ प्रतिशत गिरावट आए पनि इम्पेरमेन्ट चार्ज घटेको कारण नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले घटेपनि सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित हुँदा नाफामा सकारात्मक असर परेको हो।
नबिल बैंकको नाफा १५.०१% वृद्धि, चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ आम्दानी
काठमाडौं। नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २५.४४ प्रतिशतले उकालो लागेको छ। इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ, जसको प्रत्यक्ष प्रभाव नाफामा देखिएको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३.६३ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४१ पैसामा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३.६३ प्रतिशतले बढेर ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ११.५८ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी २.०६ प्रतिशतले बढेको छ। त्यस्तै, खुद दाबी ५.२९ प्रतिशत र कुल खर्च ३.३६ प्रतिशतले घटेका छन्।
डा. उज्ज्वल पाटनी पहिलोपटक नेपालमा, शिवम् सिमेन्टको मुख्य प्रायोजनमा ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ आयोजना
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा “Business Blueprint Nepal” आयोजना हुने भएको छ। कार्यक्रम २०७५ भदौ १२ गते (२८ अगस्ट २०२५) बिहीबार, बिहान १०:३० देखि अपरान्ह ५:०० बजेसम्म, काठमाडौंको नक्सालस्थित होटल मेरियटमा हुनेछ।
इप्पानको ११ बुँदे माग विद्युत प्राधिकरणसमक्ष, पीपीए सुचारु र कन्टिन्जेन्सी खारेजमा जोड
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ। वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले विगतदेखि उठाउँदै आएका मुद्दाहरू छिटो समाधान गर्न आग्रह गरेको हो।
मागहरूमा टेक एन्ड पे पिपिए खारेज, आरसीओडी म्याद थप, खेर जाने विद्युत व्यवस्थापन र कन्टिन्जेन्सी व्यवस्था हटाउने, विनासर्त २८,५०० मेगावाट लक्ष्यका लागि पिपिए खुलाउने तथा १० मेगावाटसम्मका आयोजनाको पिपिए तत्काल सुचारु गर्ने जस्ता विषय समावेश छन्।
भारतद्वारा नेपालका थप पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २ सय मेगावाट विद्युत् किन्ने सम्झौता
काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् किन्ने सम्झौता गरेको छ । थप २०० मेगावाट विद्युत् खरिद गर्न थप पाँच जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् किन्ने सम्झौता गरिएको हो ।
भारत सरकारले यो सम्झौता गरेपछि नेपालबाट गर्ने कूल विद्युत आयात एक हजार १०.९ मेगावाट पुगेको छ।यसअघि प्राधिकरणले ८१०.९ मेगावाट निर्यात अनुमति पाएको थियो। २०० मेगावाट स्वीकृति पाएसककगै भारतमा मात्र कूल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।
मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३०० रुपैयाँ घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम हो ।
सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा कायम भएको जनाइएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
डिजिटल भुक्तानी :वालेट कम्पनीहरूलाई आतंकवादीहरूको पहिचान गरी सेवा प्रदान गर्नुपर्ने निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक अथवा वालेट कम्पनीका लागि वित्तीय प्रतिबन्ध सम्बन्धी व्यक्ति पहिचानको काम गर्नुपर्ने गरी मार्गदर्शन जारी गरेको छ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरोसूचीमा परेपछि वालेट कम्पनीलाई सूचकका रूपमा राख्दै व्यक्ति पहिचान भए वित्तीय कारोबार रोक्का गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन बैंकले उल्लेखनिय प्रगती गरेको छ । बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
नबिल बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत
काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १५.०१ प्रतिशत बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ ।
गृह मन्त्रालयको कडा कदम: तोकिएको स्थानमा नपुगेका १५ कर्मचारीको हाजिरी काटियो
काठमाडौं । खटाइएको स्थानमा नपुगेका १५ कर्मचारीको गृह मन्त्रालयले डिजिटल र रजिस्टर हाजिरी काटेको छ। सरुवा वा पदस्थापन भएको एक महिनासम्म पनि सम्बन्धित कार्यालयमा नगएपछि मन्त्रालयले यो कदम चालिएको हो।
साउन १५ गते २४ घण्टे उर्दी जारी गरेपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा मात्र तोकिएको कार्यालयमा पुगेका थिए। अटेर गर्ने १५ जनामाथि साउन २० गतेदेखि हाजिरी काट्ने निर्णय गरिएको हो।
देशभर बदली र वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा
काठमाडौँ ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij