
काठमाडौँ । लामो समयदेखि उत्पादन बन्द रहेको र निजीकरण गर्ने घोषणा गरेको हेटौडा सिमेन्ट उद्योगमा सरकारले नयाँ सञ्चालक नियुक्त गरेको छ ।पर्यवेक्षकहरूले सरकारले दुविधापूर्ण निर्णय गर्दै आएको प्रमाणको रूपमा हेटौडा सिमेन्टलाई प्रस्तुत गरेका हुन् । सरकारले हेटौडा सिमेन्ट सञ्चालन गर्ने हो वा निजीकरण गर्ने हो भन्न सकिने यसबाट देखिएको उनीहरू बताउँछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २० गते निर्णय गरेर खुला प्रतिस्पर्धाबाट आएका ओम कुमार स्याङताङ र भुपेन्द्र सिंह रावललाई हेटौंडा सिमेन्ट उद्योगको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले साउन ४ गते रिक्त रहेका सञ्चालक पदको लागि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले सबै चरण पार गरेर आएका दुई जनालाई सञ्चालक सदस्य नियुक्त गरेको हो । उनीहरूको नियुक्ति सरकारले आफैले हेटौंडा सिमेन्टलाई निजीकरण गर्ने निर्णय गरिसकेपछि गरेको हो ।
गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले हेटौंडा सिमेन्ट उद्योगसहित ७ वटा सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै गत वैशाखको तेस्रो सातादेखि नै उद्योगको सिमेन्ट उत्पादन पूर्ण रुपमा बन्द रहेको छ । वि.स. २०३३ सालमा स्थापना भएर २०४२ सालदेखि व्यवसायिक उत्पादन थालेको उद्योग पछिल्ला केही वर्षदेखि निरन्तर घाटामा सञ्चालन हुँदै आएको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता २६ लाख टन रहेको कम्पनी घाटामा गइरहेकाले यसलाई निजीकरण गर्ने घोषणा गरिएको थियो । निजीकरणको घोषणा पछि सञ्चालक समिति सदस्यको नियुक्तिलाई पर्यवेक्षकहरू दुविधाको निर्णय भनेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij