
काठमाडौँ । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड( नेपाल टेलिकम)को सिमकार्ड बिक्री वितरणमा ठुलो घपला हुँदै आएको छ । नेपाल टेलिकमले कार्यविधि नै बनाएर डिलर र सब डिलर मार्फत् सिमकार्डको बिक्री वितरण गर्दा कम्पनी स्वयम् कमिसनले थिलथिलिँदै गएको छ । नेपाल टेलिकमले बर्सेनि १५ देखि २०लाख (औसत) सिमकार्डको बिक्री वितरण गर्छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार गत आवमा २३ लाख ३० हजार सिमकार्ड बिक्री भएको छ ।
नेपाल टेलिकमले कार्यविधि नै बनाएर देशैभर डिलर र रिटेलरमार्फत प्रति सिमकार्ड ९० रूपैयाँमा बिक्री गर्दै आएको छ । टेलिकमले आफ्ना काउन्टरबाट सिमकार्ड ९० रुपैयाँमा बिक्री गर्दा कमिसन दिनु पर्दैन् । टेलिकमले ९० रुपैयाँमा बिक्री गर्ने सिमकार्ड बिक्री गर्दा डिलरलाई प्रति सिमकार्ड ३५ रुपैयाँ र रिटेलरलाई ८० रुपैयाँ दिने गर्छ । ९० रुपैयाँको सिमकार्डका लागि टेलिकमले ११५ रुपैयाँ कमिसन नै दिने गरेको छ । प्रति सिमकार्ड २५ रुपैयाँ टेलिकमले आफ्नो अन्य आम्दानीबाट तिर्ने गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सिमकार्ड तथा रिचार्ज कार्डको बिक्री वितरण र भुक्तानीसम्बन्धी कार्यविधि २०७८मा गरिएको संशोधनसमेतमा आफैलाई घाटा लाग्ने र बिचौलियालाई पोस्ने र कर छली हुने द्वैध व्यवस्था गरेको छ ।
कम्पनीका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेलको नेतृत्वमा बनेको उक्त कार्यविधिमा टेलिकमले डिलरलाई प्रति सिमकार्ड बिक्री गरेवापत ३५ रुपैया कमिसन दिने र रिटेलरलाई ८० रुपैया दिने व्यवस्था गरिएको छ ।कार्यविधिको ५४मा सेवा शुल्क र कमिसन भुक्तानीसम्बन्धी व्यवस्था गरिएको छ । जसमा :
‘(क) सिमकार्ड बिक्री गरेवापत देहाय बमोजिम सेवा शुल्क तथा कमिसन उपलब्ध गराइनेछ ।
१) डिलरलाई प्रतिसिम कार्ड रु .३५ (मू अ कर बाहेक)का दरले सेवा शुल्क ।
२) रिटेलर/पीओएसलाई प्रति सिमकार्ड रु ८०(करसहित)कादरले कमिसन
३) सब डिलरहरूको हकमा डिलरहरूले आफ्नो सेवा शुल्क मध्येबाट व्यावसायिकताको आधारमा निर्धारण गर्न सक्ने ।
ख) उपबुँदा (क)को खण्ड (२)मा उल्लेख भएको कमिसनको अतिरिक्त धेरै बिक्री गर्ने अधिकतम ५०० वटासम्म रिटेलर÷पीओएसलाई वार्षिक बिक्रीको आधारमा प्रवन्ध निर्देशकले थप १० प्रतिशतसम्म प्रोत्साहन कमिसन दिन आवश्यक निर्णय गर्न सक्ने छ ।
ग) डिलरहरूलाई नमस्ते पे वालेट वा चेक वा इन्टर बैंक पेमेन्ट सिस्टम(आईपीएस) मार्फत कम्तीमा मासिक रुपमा भ्याट बिल प्राप्त भएपश्चात ७ दिनभित्र सेवा शुल्क वापतको रकम भुक्तानी गरिनेछ ।
घ) रिटेलर/पीओएसको कमिसन नमस्ते पे वालेट मार्फट ग्राहक विवरण रुजु भएको एक हप्ता भित्र भुक्तानी गरिनेछ । उपयुक्त वालेट मार्फत कमिसन रकम भुक्तानीको व्यवस्था नहुञ्जेलसम्मका लागि सम्बन्धित डिलर मार्फत रिटेलर ÷पीओएसको कमिसन भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।
ङ)नियमानुसार अग्रिम कर कट्टागरी सेवा शुल्क तथा कमिसन भुक्तानी गरिनेछ ।
च) डिलर म्यानेजमेन्ट सिस्टम(डीएमएस) फेस टु फेस एप र नमस्ते पे वालेट ÷एप सञ्चालन गर्ने डिलर , सब डिलर तथा रिटेलर/पीओएसको मोबाइल नम्बर ह्वाइटलिस्निङ गरी उल्लिखित सिस्टमहरू चलाउादा डाटाको रकम नलाग्ने व्यवस्था मिलाइने छ’
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले यसबारे आफूलाई धेरै जानकारी भएको बताइन् । यता टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले सेवा शुलक र कमिसन भुक्तानी सम्बन्धी उपर्युक्त व्यवस्थामा कुनै परिवर्तन नभएको बताएका छन् । उनले डिलरलाई ३५ रुपैयाँ र रिटेलरहरूलाई ८० रुपैयाँ दिने गरेको बताए ।
नयाँ सडकले ९० रुपैयाँको सिमकार्डका लागि ११५ रुपैयाँ कमिसन कसरी दिनु हुन्छ भनी सोधेको प्रश्नको जवाफमा टेलिकमले गर्ने अन्य आम्दानीबाट सो रकम भुक्तानी गर्ने गरेको मानन्धरले बताए ।
टेलिकमको कार्यविधिमा द्वैध व्यवस्था , यसरी भइरहेको छ कर छली :
नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिमकार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी (तेस्रो संशोधन ) कार्यविधि २०७८मा डिलरलाई प्रति सिमकार्ड रु. ३५ (मूल्य अभिवृद्धि कर)बाहेक सेवा शुल्क दिने भनिएको छ । यस्तै रिटेलर /पीओएसलाई प्रति सिमकार्ड ८० रुपैया ( करसहित)का दरले कमिसन दिने भनिएको छ । डिलरलाई र रिटेलर÷पीओएसलाई दिइने कमिसनलाई कतै सेवा शुल्क र कतै कमिसन भनेर लेखिएको छ । कम्पनीले यसरी छुट्टै व्यवस्था गर्दा राज्यलाई करोडौँ रुपैयाँ कर नोक्सानी भइरहेको टेलिकम निकट स्रोतले बताएको छ । कमिसन बापतको रकम बुझाउँदा १५ प्रतिशत कर कट्टी गरेर भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर टेलिकमले डिलरलाई कमिसन भुक्तानी गर्दा सेवा शुल्क भनेर १.५ प्रतिशत मात्र टीडीएस कट्टी गरी भुक्तानी गर्दै आएको छ । यसले पनि सिमकार्डका बिक्री वितरण पश्चात कमिसन भुक्तानी गर्दा ठुलो मात्रामा कर छली भइरहेको स्रोतले बताएको छ ।
यो पनि पढ्नुहोस् :
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij