Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २९ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २९ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २९ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    अपि पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण स्वामित्व लिँदै

    काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रालिको सम्पूर्ण स्वामित्व लिने भएको छ ।अपि पावरले यसका लागि  निर्णायक कदम चालेको  हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

     

    दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व प्राप्त भएपछि अपि पावरले उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्ने छ ।

     

    शेयर बजार : नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ बिन्दुमा, करिब ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार (साउन २९ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.१४ प्रतिशतको वृद्धि देखाएको छ।
    आज कूल ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३२० कम्पनीका १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भएका छन् भने कूल ७६ हजार ५४२ कारोबार सम्पन्न भएका छन्।आज १०८ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १४१ कम्पनीका सेयर घटेका छन्। कुनै पनि कम्पनीको मूल्य यथावत् रहेन।

    लक्ष्मी सनराइज बैंकको नाफामा उछाल ,लाभांश क्षमता १२.३४ प्रतिशत

    काठमाडौं ।  लक्ष्मी सनराइजले उल्लेखिए प्रगति गरेको छ ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो । 

     


    गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १२ अर्ब ३६ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    नेप्से सूचक गणनामा ‘ह्युमन इरर’ को खुलासा, साना त्रुटिले पनि दोस्रो बजारको मूल्य निर्धारणमा प्रभाव

    काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०८१ चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको भरित औसत मूल्यका आधारमा सूचक गणना सुरु गरेको थियो। सोही दिनदेखि कम्पनीहरूको क्लोजिङ प्राइस पनि यही आधारमा तय गर्न थालिएको हो।

     

    तर, सूचक गणनामा सुरुदेखि नै लगानीकर्ताले विश्वासनीयता सम्बन्धी प्रश्न उठाउँदै आएका छन्। साउन १२ गते त ठूलो विवाद समेत भयो—पहिले सूचक दुई अंकले घटेको देखिएकोमा पछि नेप्सेले प्राविधिक गडबडी भएको भन्दै सच्याउँदा सूचक ७.१० अंकले बढेको थियो।

    अनुसन्धानमा थाहा भएको कुरा के हो भने, नेप्सेले औसत मूल्य निकाल्न स्वचालित सफ्टवेयर प्रयोग नगरी, कर्मचारीले नै एक्सेलमा डाटा डाउनलोड गरेर हातैले गणना गर्ने गर्दछ। यस क्रममा ‘ह्युमन इरर’ हुने सम्भावना रहन्छ। नेप्सेका एक अधिकारीका अनुसार सफ्टवेयर नहुँदासम्म यस्तो त्रुटि दोहोरिन सक्नेछ।

    नागढुंगा सुरुङमार्ग शुल्क निर्धारण : ६० देखि ६०० रुपैयाँसम्म, मोटरसाइकल प्रवेश निषेध

    काठमाडौं । मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले नागढुंगा सुरुङ मार्ग प्रवेश गर्दा लाग्ने दस्तुर निर्धारण गरेको छ। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका १८ वटा निर्णय सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।

     

    सडक विभागले तयार पारेको निर्देशिका अनुसार, नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस र ट्रकका लागि आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस र ठूला ट्रकका लागि आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तोकिएको छ। यस्तै, भारी उपकरणयुक्त सवारी साधनका लागि आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।

    नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

     

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ कानम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्नेगरी सबै किसानलाई व्यावसायिक भैँसीपालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवन बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

    अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि रु दुई लाख जरिवाना गराएको छ ।  

     

     

    काठमाडौँ महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि  जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उहाँले बताउनुभयो । 

    लालीगुराँस बचत सहकारीका पूर्वव्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ

    तानसेन ।  लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका पूर्वव्यवस्थापक विष्णुबहादुर बमरेललाई सहकारी ठगी कसुरमा पक्राउ गरिएको छ। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, बमरेलमाथि रु २ करोड ८७ लाख ५७ हजार रकम अपचलन गरेको आरोप छ।

    अनुसन्धान अनुसार, कार्यकारी प्रमुख तथा व्यवस्थापकको जिम्मेवारीमा रहँदै उनले सर्वसाधारण शेयर सदस्यहरूले बचत गरेको रकम गैरकानुनी रूपमा आफ्नो व्यक्तिगत र पारिवारिक प्रयोजनमा खर्च गरेका थिए। यस विषयमा जाहेरी दर्ता भएपछि बमरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    सर्लाहीको बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र ८ करोड जरिवाना

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद सजाय र ८ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। अदालतले बिहीबार सजाय तोकेको हो। यसअघि गत साउन २१ गते उनलाई गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा दोषी ठहर गरिएको थियो।

    विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थापाबाट १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा असुलउपर गर्ने आदेश पनि दिएको छ। अनुसन्धानमा थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको थियो।

    ‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट’

    काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । आज नेपाल पर्यटन बोर्डमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उहाँले निजी क्षेत्रको अग्रसरतामा विकास भएको पर्यटनस्थल नगरकोटलाई अन्तरराष्ट्रियस्तरसम्म प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाका बीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका रुपमा नगरकोट स्थापित छ । हामीले आगामी दिनमा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा प्रवद्र्धन गर्नेछौँ ।” नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै उहाँले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताउनुभयो । नगरकोटका होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको थियो । नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गर्नुभयो ।

    ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

     

    उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी  र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।

    इनड्राइभको “राइड मोर, विन मोर” योजना १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

    काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर “राइड मोर, विन मोर” योजना ल्याएको छ । यस विशेष अफर अन्तर्गत, प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी , राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् ।
    साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुहरूका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । 
    ● ३ वटा राइड– १ टिकट
     (नो लिमिट–जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर)
    पुरस्कारहरूः
    ● १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कूटर
    ● ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच
    इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं । यही हाम्रो प्लेटफर्मको विशेषता हो—स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता । ‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो । यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौ । जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ ।

    ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ।प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताउनुभयो । आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उहाँले जानकारी गराउनुभयो । । यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताउनुभयो ।

    अपि पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण स्वामित्व लिँदै

    काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रालिको सम्पूर्ण स्वामित्व लिने भएको छ ।अपि पावरले यसका लागि  निर्णायक कदम चालेको  हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

     

    दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व प्राप्त भएपछि अपि पावरले उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्ने छ ।

    काठमाडौँ तराई / मधेस द्रूतमार्ग आयोजनाको ४३ प्रतिशत काम सम्पन्न

    काठमाडौँ।रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले द्रूतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाउनुभयो । “जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ”, मन्त्री राईले भन्नुभयो, “छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।” काठमाडौँ उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उहाँले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताउनुभयो ।

    पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

     

    आयोगको अनुसन्धानमा यादवसँग भएको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएको पाइएको छ। बिहीबार (साउन २९) विशेष अदालतमा दायर मुद्दामा यादवमाथि पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ। आयोगले अवैध रूपमा आर्जित सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा रहेको देखाउँदै त्यसलाई जफत गर्न माग गरेको छ।

    आयोगका अनुसार, ०६६ जेठ २४ देखि ०७९ साउन २९ सम्मको अवधिमा यादवले घरजग्गा खरिद, निर्माण, कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, बिमा प्रिमियम र बैंक खातामा जम्मा गरी ३ करोड ६५ लाख चार हजार ४५३ रुपैयाँ ९१ पैसा लगानी गरेका छन्।

    कृषि मन्त्री अधिकारीः पर्याप्त बजेट नभएकाले मल आपूर्ति चुनौतीपूर्ण

    काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन्।

     

    बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले आवश्यक मात्रा आपूर्ति गर्न कठिन भएको बताए। उनले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिएका छन्।

    हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा मन्त्रालयले ६ लाख टन मल आपूर्ति गर्ने योजना बनाएको मन्त्रीले बताए। खरिद गरी ल्याइने ९० प्रतिशत मल बढी खपत हुने क्षेत्रमा वैज्ञानिक आधारमा वितरण गर्ने व्यवस्था प्रदेश सरकारमार्फत मिलाइएको उनले उल्लेख गरे।

    कारोबार रोक लगाइसकेपछि पनि ५ करोड रुपैयाँ निक्षेप, कर्णाली डेभलपमेन्ट बैंक प्रकरणमा नेफ्स्कुनभित्र आन्तरिक विवाद र छानबिन प्रतिवेदन गोप्य

    काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) भित्र कर्णाली डेभलपमेन्ट बैंकमा रहेको ठूलो रकमको बचतबारे आन्तरिक विवाद तीव्र भएको छ।

     

    २०८२ साउन ६ गते राति सञ्चालक समितिको मेसेन्जर ग्रुपमा एक सञ्चालकले “कर्णाली डेभलपमेन्ट बैंकमा रहेको ४५ करोड रुपैयाँ हराएको” आशंका व्यक्त गर्दै प्रतिवेदन र कारबाहीबारे प्रश्न उठाए। अध्यक्ष चन्द्र प्रसाद ढकालले महासचिवलाई पटक–पटक प्रक्रिया अघि बढाउन आग्रह गरेको तर अहिलेसम्म प्रतिवेदन पनि नपाएको जवाफ दिए।

    यसपछि सञ्चालक खेमराज सुवेदीको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भयो। समितिले ४५ दिनभित्र प्रतिवेदन तयार गरे पनि अहिले पनि उक्त प्रतिवेदन गोप्य छ, जसले सञ्चालकहरूबीच शंका थपेको छ।

    एमआरपी कार्यान्वयनमा लाग्यो कालो बादल, कार्यान्वयन गराउन तम्सेका महानिर्देशक कुमार दाहालको सरुवा

    काठमाडौँ । बजारमा बिक्री गरिने वस्तुमा  अधिकतम् खुद्रा मूल्य (एमआरपी)को लेबल अनिवार्य राख्ने र त्यससम्बन्धी प्रभावकारी अनुगमन अभियानमा कालो बादल लागेको छ । बजारमा बिक्रीमा राखिएका मालवस्तुमा अनिवार्य एमआरपी नराखेको पाइएपछि  वाणिज्य आपूर्ति तथा उपभाक्ता हित संरक्षण विभागले कारबाही र जरिवाना समेत तिराउँदै आएकोमा यो अभियान ठोस नतिजामा नपुग्दै प्रभावित हुन पुगेको हो ।

     

    विभागको एमआरपी लेबल राख्न लगाउने अभियानमा अडान लिएर अघि बढ्दै गएका विभागका महानिर्देशक कुमार दाहालको सरुवा भएपछि अभियानमा कालो बादल लागेको पर्यवेक्षकहरूले बताएका हुन् ।सरकारले एकै साथ ६ दर्जन सहसचिवहरूको सरुवा गर्दा विभागका महानिर्देशक  कुमार दाहालको पनि सरुवा गरिएको हो ।

    दुग्ध उत्पादक किसानका  दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी  गर्न बाँकी

    चितवन । दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

     

    दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले  भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताउनुभयो ।  उहाँले भन्नुभयो “दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ । अपमानित होइन । यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ ।” अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी रु चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुग्ध विकास बोर्डको रु एक अर्ब र निजी क्षेत्रबाट रु तीन अर्ब भुक्तानी पाउनुपर्ने छ । सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो ।

    माउन्ट एभरेष्ट डिष्टिलरीले सर्वसाधारणका लागि १२ करोडको आईपीओ जारी गर्ने

    काठमाडौँ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

     

    यस सम्झौतापत्रमा प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ।

    दरमखोला हाइड्रोपावरको आइपीओमा २२ लाख आवेदन, १३ हजार आवेदन बदर

    काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको हो।

     

    आइपीओमा आवेदन दिने २,४२,३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसमध्ये ५ भाग्यमानीले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्।

    कम्पनीको आइपीओमा २२,९६,४६५ वटा आवेदन परेको थियो, जस मध्ये २२,८३,२२६ आवेदन सदर भएको छ भने १३,२३९ आवेदन बदर भएका छन्। दरमखोला हाइड्रोपावरले साउन १५–१९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको थियो।

    काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाङ, सहकारी ठगी र साइबर अपराध बढ्दै

    काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।

     

    सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढ्यो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

     


    गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ३ करोड २ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 


    समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणाँत्मक थियो ।

    नेपाल एसबिआई बैंकको नाफा घट्यो,लाभांश वितरण क्षमता ११.२९ प्रतिशत

    काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा घटेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

     


    अघिल्लो वर्ष १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.३५ प्रतिशत पुगेको छ । जसकारण बैंकको नाफा घट्न पुगेको देखिन्छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ३५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७.५४ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.९० प्रतिशत बढेर ६ अर्ब ७८ करोड ८३ लाख ४१ हजार रुपैयाँ र सञ्चालन नाफा ३.६१ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

     

    यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

     

     

    राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।

     

     

    यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ््याङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij