Logo

Aug 15 2025 | २०८२, साउन ३०गते

Aug 15 2025 | २०८२, साउन ३०गते

images

बिजनेस भिसा लिने विदेशीहरूको संख्यामा करिब ५० प्रतिशतको वृद्धि

बिजनेस भिसा लिने विदेशीहरूको संख्यामा करिब ५० प्रतिशतको वृद्धि

  • काठमाडौँ । बिजनेस भिसा लिनेहरूको संख्या करिब ५० प्रतिशतले बढेको छ ।  व्यावसायिक प्रयोजनका लागि प्रवेशाज्ञा अर्थात बिजनेस भिसा लिने विदेशी नागरिकहरूको संख्यामा यस्तो वृद्धि देखिएको हो । चिनियाँ, कोरियाली, अमेरिकी, जापानी तथा बेलायती नागरिकहरूले बिजनेस भिसा लिने बढेको देखिएको छ ।

    बिजनेस भिसा लिनेहरूका  परिवारका सदस्यले पनि भिसा पाउने भएकाले यो संख्या बढेको देखिएको हो । नेपालमा लगानी गर्ने भारतीय नागरिकका लागि भने भिसा जरुरी हुँदैन् । 

    अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ३ सय ३५ जना विदेशीले बिजनेस भिसा लिएका छन् । अघिल्लो वर्ष यो संख्या २ हजार २सय ८१ थियो । गत आवमा  बिजनेस भिसा लिनेहरू १ हजार ५४ बढेका छन् । प्रतिशतमा  बिजनेस भिसा लिने  विदेशीहरूको संख्या  ४६.२० प्रतिशतले बढेको छ । गत वर्ष व्यावसायिक नाता भिसा लिनेको संख्या झनै बढी देखिन्छ । अघिल्लो वर्ष १ हजार ४ सयले यस्तो भिसा लिएकोमा गत वर्ष ७ हजार ८१७ पुगेको छ । यसबाहेक सरकारले विदेशी लगानीका कम्पनी तथा केही स्वदेशी कम्पनीले नै माग गरेको अवस्थामा पनि विदेशी कामदारलाई भिसा प्रदान गर्छ ।

    उद्योग विभागमा वैदेशिक लगानी दर्ताका आधारमा सरकारले यस्तो भिसा दिने गर्छ । विभागले उद्योग दर्ता प्रक्रिया सुरु गरेलगत्तै यस्तो भिसाका लागि सिफरिस गर्ने व्यवस्था छ । नेपाल बाहिरबाट अनलाइनमार्फत उद्योग दर्ता गर्नेले सुरुमै यस्तो भिसाका लागि सिफारिस प्राप्त गर्ने र अन्यका हकमा नेपालमा पर्यटक भिसामा आएर पछि बिजनेस भिसामा परिवर्तन गर्न पाउने सुविधा पनि रहेको छ ।

    जनाइए अनुसार नेपालमा बिजनेस भिसाको सुविधा उपभोग गर्नेमा चिनियाँ नागरिकको संख्या बढी रहेको छ । गत आवमा कुल १ हजार २३५ चिनियाँ नागरिकले बिजनेस भिसाका लागि सिफारिस प्राप्त गरेका छन् । दोस्रोमा अमेरिकाका ४सय ९ नागरिकले बिजनेस भिसाका लागि सिफारिस पाएका छन् । कोरियाका २४७ लगानीकर्ताले पनि यो सुविधा लिएका छन् ।

    वैदेशिक लगानीकर्तालाई भिसा सम्बन्धी नयाँ व्यवस्था अनुसार नेपालमा १० करोड वा सोभन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम लगानी भित्र्याइसकेको  अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जनालाई व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था छ । यसैगरी  भिसा लगानीकर्ताको दुईजना प्रतिनिधि र तीनका परिवारले पाउने छन् । यस्तै, नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ ।

    १० लाख डलरभन्दा बढी रकम वा सो बराबरको परिवत्र्य मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने छ । यस्तो लगानीको ५० प्रतिशत लगानी बराबर स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    विदेशी लगानी ऐन कार्यान्वयन हुनुअघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानीयोग्य कायम गर्नु पर्नेछ । विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij