Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

तीस वर्ष अघि निर्णय भएको निजगढ विमानस्थल निर्माण पूरा हुन अझ तीन दशक लाग्ने स्थानीयहरूको चिन्ता

तीस वर्ष अघि निर्णय भएको निजगढ विमानस्थल निर्माण पूरा हुन अझ तीन दशक लाग्ने स्थानीयहरूको चिन्ता

  • काठमाडौँ । तीस वर्ष अघि सरकारले निर्णय गरेको निजगढ विमानस्थलको निर्माण कार्य अझ तीन दशक लाग्ने चर्चा चल्न थालेको छ ।राष्ट्रिय गौरवको आयोजनामा सामेल गरिएको  निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि सरकारले चालु आवमा २३ अर्ब बढी बजेट विनियोजन गरेको छ ।  हालसम्म १ अर्ब बढी खर्च भइसकेको भएपनि निर्माण कार्य सुरु हुन नसकेकाले स्थानीयहरूले यस्तो भन्न थालेका हुन् ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व दक्षिण एसियाली रुपमा महत्व मानिएको छ ।  यसका लागि कुल लागत १ खर्ब ६५ अर्ब अनुमान गरिएको छ । महालेखा परिक्षकका अनुसार हालसम्ममा उक्त आयोजनामा १ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ । तर निर्माण कार्य अझ सुरु हुन सकेको छैन । २०५१ सालमै तत्कालीन सरकारले निजगढ विमानस्थल निर्माण गर्ने भनेर निर्णय गरेको थियो । तर निर्णय भएको  २० वर्षपछि मात्रै आर्थिक वर्ष २०७१/७२ देखि यो आयोजनामा बजेट विनियोजन गर्न सुरु गरियो । 

    आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर आर्थिक वर्ष २०७१/७२ देखि बजेट विनियोजन सुरु गरिएको थियो । आयोजनाको हालसम्म पनि निर्माण कार्य सुरु हुन नसकेकाले स्थानीयहरूले यस्तो भन्न थालेका हुन् । बजेट विनियोजन सुरु हुँदा नै खुरुखुरु काम हुँदै गए १४ /१५ वर्षको समय लाग्ने तय भएको थियो । बीस वर्ष पछि बजेट विनियोजन भएको र १ अर्ब खर्च भइसकेको भएपनि काम सुरु हुन नसक्नुलाई दृष्टान्त प्रस्तुत गर्न थालेको हो । 

    दशकौंदेखि चर्चामा रहेको यो आयोजना सरकारी प्राथमिकतामा परेको देखिएपनि विनियोजन हुने न्यून बजेट र त्यसको पनि पूर्ण खर्च हुन नसक्ने प्रवृत्तिका कारण खर्ब बढीको आयोजनाबारे यस्तो चिन्ता व्यक्त गरेको पाइएको छ ।

    सरकारले प्रत्येक वर्षको बजेट भाषणमा निजगढ विमानस्थलको निर्माणमा बजेट विनियोजन गर्ने गरेको छ । यसरी प्रत्येक वर्ष बजेट विनियोजन हुँदा नयाँ आयोजनाहरु अघि बढाउनु पर्ने ठाँउमा पुरानै आयोजनाहरुमा वर्षेनी बजेट खेर फाल्ने काम भइरहेको विज्ञहरूले औँल्याउने गरेका छन् ।उनीहरूका अनुसार राष्ट्रिय गौरवका आयोजनाहरुको नाममा बजेट खेर फाल्ने र अन्य आयोजनाहरुलाई पनि ओझेलमा पार्ने काम भइरहेको छ ।

    पुर्वयोजना बिना रणनीतिक भन्दा पनि राजनीतिक महत्वका आधारमा राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारण गर्ने गरिएको पाइन्छ ।राष्ट्रिय गौरवका योजनाहरूलाई समयमा पूरा नगरी उनीहरूको सान्दर्भिकता र आर्थिक उपादेयताको महत्व घटाउने गरिन्छ । ढिला गरी निजगढ विमानस्थल बन्दा भारतमा विस्तार भइरहेका विमानस्थलहरूले यसको महत्वलाई ओझेलमा पार्ने चिन्ता उनीहरूको रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij