
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सिल्क ग्रुपका रमेश शेर्पासहित १० जनाविरुद्ध राजश्व छली मुद्दा, १ अर्ब ७४ करोड दाबी
काठमाडौं । राजश्व अनुसन्धान विभागले सिल्क ग्रुपका रमेश शेर्पासहित १० जनाविरुद्ध राजश्व छली सम्बन्धी मुद्दा दायर गरेको छ। विभागले २०८१ पुस २२ गते बरामद गरिएको ८६ हजार ४०० थान भेप प्रकरणमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो।
अभियोगपत्रमा रमेश शेर्पा र विजय शेर्पाको भन्सार चोरी पैठारीमा प्रमुख संलग्नता रहेको उल्लेख छ। उनीहरुमाथि २० करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरिएको छ।
त्यस्तै, चोरी पैठारी गरिएका भेप लुकाउन प्रयोग गरिएको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सहयोग गर्ने कर्मचारी सन्तोष पराजुलीलाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजायको मागदाबी गरिएको छ।
शिल्क ग्रुप प्रालि अन्तर्गतका पाँच कम्पनीहरूले ३८ हजार ९२४ थान भेप बिलरबिजक जारी नगरी बिक्री गरेको प्रमाणित भएको विभागले जनाएको छ। साथै, ३ लाख १६ हजार ३१५ थान भेप नक्कली कारोबारमार्फत देखाइ भ्याट कट्टी दाबी गर्दै राजश्व चुहावट गरेको आरोपसमेत लगाइएको छ।
दार्चुला पावरले ३० लाख कित्ता साधारण सेयर आइपिओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ।दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको ३० लाख कित्ता सेयर प्रतिकित्ता रु.१०० अंकित दरमा निष्काशन गर्ने योजना बनाएको हो।
आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतिस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
दार्चुला पावर लिमिटेड जलविद्युत आयोजना विकास तथा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनी हाल २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्दैछ, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा अवस्थित छ। चमेलिया खोलामा आधारित यो आयोजना रन–अफ–रिभर प्रकारको हो।
नेप्से परिसूचकमा २७.१४ बिन्दुको गिरावट भई २७६१.२२ बिन्दुमा ,कारोबार ७ अर्ब ७३ करोड बढी
काठमाडौँ । आइतबार शेयर बजारको नेप्से परिसूचक २७६१.२२ बिन्दुमा झरेको छ । २७.१४ बिन्दुको गिरावट आइतबार नेप्से २७६१.२२ बिन्दुमा झरेको हो ।
सो गिरावटको बजारमा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैया ६३ पैसा बराबरको कारोबार भएको हो । यसका लागि २ करोड ५ लाख १३ हजार ६ सय ३५ कित्ता शेयरको खरिद बिक्री भएको हो ।
शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर भदौ १९ गतेदेखि निष्काशन गर्दै
काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर भदौ १९ गतेदेखि निष्काशन गर्न लागेको हो ।
यो भनेको कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नु हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाइएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन पाउने जनाइएको छ । कम्पनीको हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।
गत साता नेप्से परिसूचक २.१८% घटेर २७८८.३६ विन्दुमा, बजार कमजोर भोल्यूम र बियरिश प्रवृत्तिमा
काठमाडौँ । गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर २७८८.३६ विन्दुमा बन्द भएको छ। अघिल्लो साता २८५०.३७ विन्दुमा बन्द भएको नेप्से यस साता ६२.०१ अंकले ओरालो लागेको हो। ४ कारोबार दिनको अवधिमा १ दिन नेप्से सामान्य अंकले बढेको भए पनि बाँकी ३ दिन घटेर बन्द भएको छ।
टेवा क्षेत्र र सम्भावित प्रतिरोध
गत साता नेप्से टेवा क्षेत्रमा २७६०–२८०० बिन्दुमा सीमित रह्यो। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २८८०–२९२० बिन्दुमा प्रतिरोधको सामना गर्न सक्छ।
बिक्रीकर्ता हावी तर सेलिङ्ग प्रेशर घट्दै
साप्ताहिक रूपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ, जसले बजारमा बिक्रीकर्ता हावी रहेको संकेत गर्छ। यद्यपि, सातामा दैनिक घट्दो भोल्यूमले बजारमा सेलिङ्ग प्रेशर कम हुँदै गएको देखाउँछ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखाएको इप्पानको टिप्पणी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।आईतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।
"विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो ।" डाँगीले भने, "तर बिडम्बना विद्युत प्राधिकरणको ध्यान विद्युत उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरुलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।"
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा सीमा ५ लाख डलरसम्म बढायो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि अमेरिकी डलर सटही सुविधाको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था ल्याएको हो ।
संशोधित प्रावधानअनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु तथा भाँडाकुँडालगायत उत्पादन गर्न औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन् ।
दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै उनले चाडपर्वको भीडभाडमा यात्रु थप मारमा नपरोस् भन्ने उद्देश्यले भाडा नबढाउने निर्णय भएको जानकारी दिए । इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि विशेष समयमा स्थायित्व दिने प्रयास गरिएको उनले बताए ।
एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् ।
उहाँले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताउनुभयो । उहाँले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैनः प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा जोड दिनुभयो । “हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छौँ । धेरै विधेयकहरु संसद्को यसै अधिवेशनमा ल्याएका छौँ । यो सिलसिला अगाडि बढिरहन्छ”, उहाँले भन्नुभयो, “हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा छौँ । यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरुलाई मानिँदैन ।” “मुलुकी संहितामा देखिएका कमीकमजोरीहरुलाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरु पनि छन् । यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न पनि सकिन्न ।
अध्यक्ष ‘प्रचण्ड’सँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले उद्देश्य अनुकूलको सकारात्मक परिणाम ल्याउने विकल्पसहित १५ दिनभित्र प्रतिवेदनसहितको प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई निर्देशन दिनुभएको छ ।
तीस वर्ष अघि निर्णय भएको निजगढ विमानस्थल निर्माण पूरा हुन अझ तीन दशक लाग्ने स्थानीयहरूको चिन्ता
काठमाडौँ । तीस वर्ष अघि सरकारले निर्णय गरेको निजगढ विमानस्थलको निर्माण कार्य अझ तीन दशक लाग्ने चर्चा चल्न थालेको छ ।राष्ट्रिय गौरवको आयोजनामा सामेल गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि सरकारले चालु आवमा २३ अर्ब बढी बजेट विनियोजन गरेको छ । हालसम्म १ अर्ब बढी खर्च भइसकेको भएपनि निर्माण कार्य सुरु हुन नसकेकाले स्थानीयहरूले यस्तो भन्न थालेका हुन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व दक्षिण एसियाली रुपमा महत्व मानिएको छ । यसका लागि कुल लागत १ खर्ब ६५ अर्ब अनुमान गरिएको छ । महालेखा परिक्षकका अनुसार हालसम्ममा उक्त आयोजनामा १ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ । तर निर्माण कार्य अझ सुरु हुन सकेको छैन । २०५१ सालमै तत्कालीन सरकारले निजगढ विमानस्थल निर्माण गर्ने भनेर निर्णय गरेको थियो । तर निर्णय भएको २० वर्षपछि मात्रै आर्थिक वर्ष २०७१/७२ देखि यो आयोजनामा बजेट विनियोजन गर्न सुरु गरियो ।
शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर भदौ १९ गतेदेखि निष्काशन गर्दै
काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर भदौ १९ गतेदेखि निष्काशन गर्न लागेको हो ।
यो भनेको कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नु हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणको नाफा करिब डेढ अर्ब घट्यो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा करिब डेढ अर्बले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।गत आर्थिक वर्ष २०८१ /८२ मा प्राधिकरणको नाफा ९ अर्ब ७ करोड बराबर रहेको छ । आव २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ ।
यसअघि आव २०८०/८१ को तुलनामा प्राधिकारणको नाफा३७.३२% ले घटेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा देखिन्छ ।आव २०८०/ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहँदै आएको छ ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij