Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सर्वोच्च अदालतद्वारा गौर हत्याकाण्डका बारेमा छानबिन गर्न परमादेश

सर्वोच्च अदालतद्वारा गौर हत्याकाण्डका बारेमा छानबिन गर्न परमादेश

  • काठमाडौँ । तत्कालीन मधेशी जनअधिकार फोरम हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत संलग्न भएको भनिएको  रौतहटको गौरमा १८ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान हुने भएको छ। सर्वोच्च अदालतले उक्त गौर हत्याकाण्डको अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो ।

    सर्वोच्च अदालतमा २०८० जेठ २१ गते दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले हत्याकाण्डको छानबिन गर्न सोमबार परमादेश जारी गरेको हो । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एकै स्थानमा आयोजना गरेको सभाको विषयलाई लिएर झडप हुँदा माओवादीका २७ कार्यकर्ताको विभत्स हत्या गरिएको थियो। घटनामा ११५ जना घाइते भएका थिए।

    उक्त  घटनामा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुनुपर्ने माग उहीबेलादेखि उठ्दै आएको थियो । मृतकका परिवारले २०६४ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी उपर  प्रहरीले अनुसन्धान गर्न मानेको थिएन।
    पीडित परिवारको तर्फबाट उपेन्द्र यादवसहित ६६ जनाविरुद्ध २०६४ वैशाख २८ गते किटानी जाहेरी दायर गरिएको थियो । सरकारले तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरेको न्यायिक जाँचबुझ आयोगले थप ६४ जनालाई दोषी किटान गरेको थियो । सो आयोगले  २०६४ असार ३० गते प्रतिवेदन बुझाएको थियो। अहिले सोही विषयमा सर्वोच्चले छानबिन गर्न परमादेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij