Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

नेपाल–चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ सम्झौता, अनुभव आदानप्रदानमार्फत विकास र गरिबी निवारणमा सहयोग

नेपाल–चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ सम्झौता, अनुभव आदानप्रदानमार्फत विकास र गरिबी निवारणमा सहयोग

  • काठमाडौँ ।चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।

     

    सिएफआरडीले आज यहाँ आयोजना गरेको कार्यक्रममा   ललितपुरका दुई र नुवाकोटको एक गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो । 

     

    चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो । आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ ।

     

    नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले दुई देशका जनस्तरको   सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताउनुभयो ।

     

    ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो । समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

     

    सो अवसरमा  सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आाएको जानकारी दिनुभयो । सो परियोजनाले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय सागसब्जीखेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ ।

     

    कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij