Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि नेपाल सरकारको कूटनीतिक पहल निरन्तर जारी : परराष्ट्रमन्त्री डा. आरजु राणा

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि नेपाल सरकारको कूटनीतिक पहल निरन्तर जारी : परराष्ट्रमन्त्री डा. आरजु राणा

  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेयता यो मुद्दालाई प्राथमिकतामा राखी निरन्तर पहल भइरहेको उल्लेख गरिन्।

    उनका अनुसार गत एक वर्षयता आफू सहभागी भएका राष्ट्रसंघीय महासभादेखि विभिन्न अन्तर्राष्ट्रिय मञ्च, द्विपक्षीय तथा बहुपक्षीय बैठकहरूमा विपिनको रिहाइका लागि विशेष आग्रह गरिएको छ। यसै क्रममा, दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (ACD) सम्मेलन तथा त्यसपछिका भेटवार्तामा समेत सो विषय उठाइएको उनले स्मरण गरिन्।

    इजरायल र हमासबीच युद्धविरामको तयारी सुरु भएपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि नेपाल सरकारले आफ्नो कूटनीतिक पहललाई अझ सक्रिय बनाएको डा. राणाले बताइन्। कतार, इजरायल, इजिप्ट, इरानलगायतका देशका विदेशमन्त्रीहरूसँग फोनवार्ता गरी उनले नेपाल सरकारको तर्फबाट विपिनको रिहाइका लागि विशेष आग्रह गरिन्।

    उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत गरेको ध्यानाकर्षणबारे पनि जानकारी दिइन्। विपिनको रिहाइमा लागिपरेका इजरायली सरकार, त्यहाँका नागरिक, नेपाली समुदाय र विश्व समुदायलाई उनले विशेष धन्यवाद पनि व्यक्त गरिन्।

    मन्त्री राणाका अनुसार हाल परराष्ट्र मन्त्रालयको परामर्शमा विपिनकी आमा र बहिनी इजरायल पुगेका छन् र उनीहरूले इजरायली राष्ट्रपतिसँग भेटेर विपिनको तत्काल रिहाइको अपिल गरेका छन्। उनले नेपाल सरकार यो मुद्दामा कुनै कसर बाँकी नराखी काम गरिरहेको र नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको स्पष्ट पारिन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij