Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ३ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    प्रस्तावित वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनाबारे सांसदहरू र अर्थमन्त्रीबीच फरक मत

    काठमाडौँ । प्रस्तावित वैकल्पिक विकास वित्त कोषको पुँजी संरचना कस्तो हुने भन्ने विषयमा अर्थ समितिका सांसदहरू र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच फरक मत देखिएको छ ।

     

     

    ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा वैकल्पिक विकास वित्त कोषको अधिकृत पुँजी रु एक खर्ब र चुक्ता पुँजी रु २५ अर्ब हुने गरी प्रस्ताव गरिएको छ । अर्थ समितिका सदश्यहरूले उक्त पुँजी संरचना बढाउनुपर्ने धारणा राखेका थिए भने अर्थमन्त्री पौडेलले पुँजी बढाउन नसकिने बताउनुभएको छ । विद्यमान पुँजी संरचनाअनुसार नै विधेयक अघि बढाउने तर भोलिका दिनमा पुँजी संरचना बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिन सकिने गरी अर्थ समितिले विधेयकमाथिको प्रतिवेदन तयार पारेको छ ।

    विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भदौ ४ गतेदेखि कारोबार सुरु

    काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ९० लाख ९१ हजार १३ कित्ता साधारण शेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो। यससँगै कम्पनीलाई नेप्सेले कारोबार कोड द्यज्ऋी प्रदान गरेको छ।

    कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत शेयर निष्काशन गरेको हो। नेप्सेले दिएको जानकारीअनुसार, कुल ९० लाख ९१ हजार १३ कित्ता शेयरमध्ये सर्वसाधारणका लागि ४४ लाख ५७ हजार ५९६ कित्ता ९४९ प्रतिशत) र संस्थापकका लागि ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत)सूचीकृत गरिएको छ। यो सूचीकरण प्रक्रिया धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ १ गतेको निर्णयअनुसार सम्पन्न गरिएको हो।

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि आईपीओ ९सर्वसाधारणलाई पहिलो पटक सेयर बिक्री० निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी सेयर जारी गर्न लागेको हो।

    कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति मिलिसकेको छ।

    शेयर बजार : नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८०.१५ बिन्दुमा, करिब ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (भदौ ३ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७६ अंकले बढेर २७८०.१५ विन्दुमा पुगेर बन्द भएको छ, जसले बजारमा ०.३५ प्रतिशतको वृद्धि देखाएको छ।

     

    आज कूल ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३१६ कम्पनीका १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच भएका छन् भने कूल ६१ हजार ७८४ कारोबार सम्पन्न भएका छन्।

    आज १४२ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १०७ कम्पनीका सेयर घटेका छन्। कुनै पनि कम्पनीको मूल्य यथावत् रहेन।

    साउनमा पुँजी बजारबाट २ अर्ब १५ करोड बढी लाभकर उठ्यो

    काठमाडौं । साउनमा पुँजी बजारबाट २ अर्ब १५ करोड लाभकर उठेको छ ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा पुँजी बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ बढी लाभकर उठेको हो ।

     

    यस अवधिमा पुँजी बजारका व्यक्तिगत लगानीकर्ताले लामो समय अवधिको सेयर बेचेर ६५ करोड २ लाख ५९ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यसैगरी, छोटो अवधिको सेयर बेचेर एक महिनामा व्यक्तिगत लगानीकर्ताले १ अर्ब २१ करोड ४१ लाख ४२ हजार ५९६ रुपैयाँ लाभकर तिरेको देखिन्छ ।

    खानीखोला हाइड्रोपावरको हकप्रद सेयरको निष्काशन बिक्री खुला

    काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले  मंगलबारदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन बिक्री खुला गरेको हो । 

     

    यसअघि कम्पनीले असार २७ गते बुकक्लोज गरिसकेर असार २६ गतेसम्म कायम सेयरधनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको हो । कम्पनीले कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।

    सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैनः महासचिव पोखरेल

    सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उहाँले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो ।

    विश्वप्रख्यात, Geely EX 5 र JY Air, आज NADA मा सार्वजनिक

    काठमाडौं। विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड Geely EX 5 र JY Air का गाडीहरु आज मंगलबारदेखि सुरु भएको NADA को उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
    सार्वजनिक भएसँगैं Geely EX 5 Max  र Pro साथै JY Air Ultra र Lite    अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्। 
    DreamSmart China को अधिकृत आयातकर्ताLRR Motors ले नेपालमा Geely EX5 भित्राएको हो, भनेLRR Motors JY Auto Group को नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।

    विश्वसामु नेपालको पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

    काठमाडौं । विश्‍वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यस अन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

    युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन महासंघ अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसंग आग्रह गरेका छन् ।
    नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले  सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह आग्रह गरे ।

    आर्थिक दैनिकलाई अख्तियारले समाचारको स्रोत मागेपछि पत्रकार महासंघलगायतको आपत्ति

    काठमाडौँ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेन्टरलगायतका सञ्चार सम्बद्ध संघसंस्थाहरूले   अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा  आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत माग गरिएको  घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

     

    असार ११ गते प्रकाशित “सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी” शीर्षकको समाचारसँग सम्बन्धित अडियो र साउन १८ गते प्रकाशित “७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण” भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले पत्राचार गरेपछि महासंघलगायतका संघसंस्थाहरूले आपत्ति प्रकट गरेका हुन् ।

    पाँचबुँदे आह्वान जारी गर्दै हिन्दूकुश हिमालय सांसद सम्मेलन सम्पन्न

    काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलोपटक भएको हिन्दूकुश हिमालय क्षेत्रका मुलुकका सांसदको सम्मेलन पाँचबुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ भन्ने मूल नाराका साथ सोमबारदेखि सुरु दुईदिने सम्मेलन आज सम्पन्न भएको हो ।

     

    यस क्षेत्रका मुलुकका सांसद तथा प्रतिनिधिहरूले काठमाडौँमा सम्पन्न ‘हिन्दूकुश हिमालय सांसद सम्मेलन २०२५’ बाट क्षेत्रीय सहकार्यद्वारा जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कार्यान्वयन गर्न आह्वान गरेका छन् । समापन कार्यक्रममा आयोजक समितिका संयोजक तथा समिति सदस्य वीरबहादुर बलायरले बैठकको निष्कर्षबारे जानकारी गराउनुभएको थियो । सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय तथा पारिस्थितिकीय प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ । सम्मेलनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

    साउन महिनामा वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

    वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व सङ्कलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् ।

     

    कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो । विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

    मंगलबार सुनको मूल्य घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँ कायम

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । 

     

    घटेअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    यसैगरी  चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जारी गरेको सूचनामा जनाइएको छ ।

    रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता, उम्मेदवार मनोनयन असोज २१ गते हुने

    काठमाडौँ ।  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । 

     

     

    दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।

    राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै, सामाजिक सञ्जालसम्बन्धी विधेयक पेस हुने

    काठमाडौँ । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।

     

     

    बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नुहुनेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij