
काठमाडौँ ।नेपाल पर्यटन बोर्ड र टिकटकबीच विशेष साझेदारी भएको छ, जस अन्तर्गत #LifetimeExperiences नामक अभियान सुरु गरिएको छ। यस अभियानको मुख्य उद्देश्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई डिजिटल माध्यमबाट विश्वसामु पुर्याउनु हो।
समझदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन्। उनले भने, “यो केवल सम्झौता मात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो। टिकटकमार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्याउने अवसर पाएका छौं। यो अभियानले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, “टिकटकको विश्वव्यापी पहुँचले हाम्रो प्रयासलाई थप बल दिनेछ। यो सहकार्यले स्वदेशमा रहेका युवाहरूलाई आफ्ना अनुभवलाई डिजिटल माध्यमबाट अभिव्यक्त गर्ने अवसर पनि दिनेछ।” बोर्डले अन्तर्राष्ट्रिय ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्ने र उनीहरूले हिमाल, ताल, मठ–मन्दिर, ग्रामीण होमस्टेस जस्ता स्थलहरूको भिडियोमार्फत प्रचार गर्ने योजना बनाएको छ।
टिकटकका दक्षिण एसियाका पब्लिक पॉलिसी प्रमुख फर्दोस मत्ताकिनले अभियानको प्रभावबारे भने, “हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र सांगीतिक परम्परा सबैलाई छोटा भिडियोमा विश्वभर देखाइनेछ। यसले नेपाललाई पर्यटकहरूको ‘बकेटलिस्ट’मा स्थापित गर्नेछ।”
टिकटकका प्रकाशन व्यवस्थापक उमाइस नवीदले थपे, “यस अभियानका तीन आधारस्तम्भ छन् – नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र स्थानीय समुदायसँगको आत्मीयता। यसले करोडौं मानिसलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नेछ।”
साझेदारीअनुसार टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कन्टेन्ट क्रियेटरहरूलाई तालिम दिनेछ, जसमा दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणको अभ्यास गराइनेछ। अभियान सन् २०२५ को बाँकी अवधिभर चरणबद्ध रूपमा सञ्चालन हुनेछ, र काठमाडौंमा #VisitNepal शोकेस इभेन्ट समेत आयोजना गरिनेछ।
नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र डिजिटल माध्यममार्फत विश्व पर्यटन सन्दर्भमा जोड्ने पुलको रूपमा अघि बढाउने विश्वास गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij