Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

७ वटा ओपन इन्डेड म्युचुअल फन्डले औसत ८.३९% लाभांश घोषणा

७ वटा ओपन इन्डेड म्युचुअल फन्डले औसत ८.३९% लाभांश घोषणा

  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका ७ वटा ओपन इन्डेड म्युचुअल फन्डले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन्। यी फन्डहरूले औसतमा ८.३९ प्रतिशत लाभांश वितरण गर्ने भएका छन्।

    सबैभन्दा धेरै लाभांश दिनेमा लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोष रहेको छ जसले यस वर्ष १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष दोहोरो अंकको लाभांश दिने खुलामुखी (ओपन) फन्डमा शुभ लक्ष्मी कोष मात्र पर्न गएको छ।

    अन्य फन्डहरूको लाभांश वितरण यसप्रकार छः

    • नबिल फ्लेक्सी क्याप फन्ड → ९%

    • कुमारी सुनौलो लगानी योजना → ८.८८%

    • सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम → ८%

    • एनआईबिएल सहभागिता फन्ड → ७%

    • एनआईसी एशिया डायनामिक डेट फन्ड → ५.५५%

    • एनएमबि सरल बचत फन्ड ई → ४.२७%

    यस वर्ष एनएमबि र सिद्धार्थ क्यापिटलका फन्डहरूले पहिलो पटक लाभांश वितरण गरेका हुन्।

    यसैबीच, सानिमा फ्लेक्सी फन्ड र प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम भने गत वर्ष मात्रै सुरु भएकाले लाभांश वितरण गर्न सकेका छैनन्।

    हाल नेपालमा ७ वटा ओपन इन्डेड म्युचुअल फन्ड सञ्चालनमा छन् भने थप ३ वटा नयाँ फन्ड बजारमा आइरहेका छन्। यीमध्ये सिटिजन्स क्यापिटलले सिटिजन्स सदावहार योजना को इकाई बाँडफाँट गरिसकेको छ, एनआईसी एशियाले इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम निष्काशन गरिरहेको छ र नबिलको दोस्रो खुलामुखी योजनाको निष्काशन भदौ ३ मा बन्द भएको छ।

    त्यस्तै, माछापुच्छ्रे क्यापिटल र हिमालयन क्यापिटलले पनि नयाँ ओपन इन्डेड म्युचुअल फन्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्। यी फन्ड सञ्चालनमा आएपछि नेपालमा ओपन इन्डेड म्युचुअल फन्डको संख्या १४ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij