Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

पाँच वर्षदेखि पुल निर्माण अधुरै

पाँच वर्षदेखि पुल निर्माण अधुरै

  • चौतारा (सिन्धुपाल्चोक)। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गर्नुभएको थियो । जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उहाँका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

    निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउनुहुन्छ । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याँै तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उहाँको दाबी छ । पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउनुहुन्छ । जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताउनुहुन्छ । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उहाँ बताउनुहुन्छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij