Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

स्थायी लेखा नम्बर लिने करदाताको संख्या झन्डै ७० लाख, एकै वर्षमा ७ लाखभन्दा बढी थप

स्थायी लेखा नम्बर लिने करदाताको संख्या झन्डै ७० लाख, एकै वर्षमा ७ लाखभन्दा बढी थप

  • काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने उपभोक्ताको संख्या झन्डै ७० लाख पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ७ लाख ७३ हजार २१७ करदाता थपिँदा कुल प्यान लिनेको संख्या असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो।

    व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान) र व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेहरुको संख्या क्रमशः बढेको छ। तथ्यांकअनुसार एकै वर्षमा बीप्यान लिनेको संख्या २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेको छ। त्यस्तै, डब्ल्यूप्यान लिनेको संख्या २ हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ भने व्यक्तिगत प्यान (पीप्यान) लिने ६ लाख ५४ हजार १८ जना थपिँदा कुल व्यक्तिगत प्यान धारकको संख्या ४९ लाख २ हजार ७२२ पुगेको छ।

    गत आर्थिक वर्षसम्म मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता हुनेको संख्या ३ लाख ५१ हजार ७३५ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार ९९७ पुगेको छ। नेपाल सरकारले २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ को नीति ल्याएपछि व्यक्तिगत प्यान लिनेको संख्या तीव्र रुपमा बढेको थियो। तर, कोभिड महामारीका कारण केही वर्ष प्यान लिने संख्यामा गिरावट आएको थियो।

    हाल व्यक्तिगत स्थायी लेखा नम्बरलाई करदाताको पहिचानको प्रमुख आधारका रूपमा प्रयोग भइरहेको छ। आयकर दाखिला, कर रिटर्न फाइल, बैंक खाता खोल्ने, ठूलो रकमको कारोबार, ऋण लिन, क्रेडिट कार्ड बनाउन, शेयर बजारमा लगानी, म्युचुअल फण्ड, सम्पत्ति खरिदबिक्री लगायत सबै वित्तीय कारोबारमा प्यान अनिवार्य गरिएको छ।

    आन्तरिक राजश्व विभाग र मातहतका कार्यालयमार्फत निःशुल्क उपलब्ध गराइने यो नम्बरले व्यक्तिको आर्थिक कारोबारलाई व्यवस्थित र कानूनी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको कर अधिकारीहरुको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij