Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

हरितालिका तीज आज: शिव–पार्वतीको पूजाआराधना गरी मनाइँदै

हरितालिका तीज आज: शिव–पार्वतीको पूजाआराधना गरी मनाइँदै

  • काठमाडौँ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । यस दिन शिव–पार्वतीको पूजा उपासना गरी व्रत बस्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

    पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन्। सोही विश्वासमा भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्ने परम्परा सुरु भएको भनाइ छ। संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्द मिलेर बनेको हरितालिका शब्द पार्वतीलाई साथीहरूले विष्णुसँगको विवाहबाट बचाइ लुकाएको घटनासँग जोडिन्छ।

    धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार तीज व्रत तीन प्रकारका हुन्छन्— निराहार, जलाहार र फलाहार। स्वास्थ्यअनुसार व्रत गर्न सकिने र श्रीमानको दीर्घायु मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहितलाई योग्य वर–वधु प्राप्तिको कामनाका लागि पनि तीज बस्ने शास्त्रीय विधान रहेको उनले बताए।

    सोमबार दर खाने परम्परासँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयामा हरितालिका व्रत, चौँथीमा गणेश पूजा र पञ्चमीका दिन स्नानसहित सप्तऋषिको पूजा गरी पर्व सम्पन्न गर्ने परम्परा छ।

    पछिल्ला वर्षहरूमा तडकभडक, गरगहना प्रदर्शन र एक महिना अघिदेखि दर खाने प्रवृत्तिले तीजको मौलिक संस्कृतिमा विकृति ल्याएको भन्दै धर्मशास्त्री तथा संस्कृतिविद्हरूले यसलाई रोक्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij