
काठमाडौँ । पछिल्ला २० दिनको अन्तरालमा नेपालमा दुईवटा ठूला अटो प्रदर्शनी सम्पन्न भएका छन्। साउन २१ देखि २६ गतेसम्म नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ र भदौ ३ देखि ८ गतेसम्म नाडा (नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल) ले आयोजना गरेको १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ सम्पन्न भइसकेका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ता पुगेका थिए भने नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक आकर्षित भएका आयोजकले जनाएका छन्। नाइमा एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए भने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
नाइमा मोबिलिटी एक्स्पोः नयाँ ब्रान्ड र महंगा गाडी प्रदर्शन
नाइमा मोबिलिटी एक्स्पो पहिलो संस्करणका रूपमा आयोजित भएको हो। ४८ वटा स्टलमार्फत नयाँ सवारी साधनहरु प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा टोयोटाको ल्यान्ड क्रुजर (३ करोड ७० लाख रुपैयाँ) देखि BYD, Maxus MIFA 7, Jaecoo J5, KTM Adventure Series, Mazda CX60 जस्ता नयाँ गाडी सार्वजनिक गरिएका थिए।
प्रवेश शुल्क सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको थियो। टिकट आम्दानीको ५ प्रतिशत शिक्षा तथा अनुसन्धानका लागि छुट्याइएको नाइमाले जनाएको छ।
नाडा अटो शोः उड्ने कारदेखि नयाँ इभी मोडेलसम्म
नाडा अटो शो २०२५ मा १२५ स्टल रहेका थिए। प्रदर्शनीको मुख्य आकर्षण थियो दीपलको उड्ने कार, जसलाई प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए। साथै, BYD Atto 2, Deepal Xero 5, Tata Nexon EV, Suzuki EVitara, Hero Xpulse 210 लगायतका गाडी सार्वजनिक गरिएका थिए।
विशेष अफरमा बिवाइडी अट्टो २ खरिदमा १० वर्षसम्म ब्याट्री र मोटर वारेन्टी, दुई चार्जर र निःशुल्क अटो कष्ट इन्स्योरेन्स दिइएको थियो। नाडा अटो शोमा मात्रै बिवाइडीका १४०० युनिट इभी बुकिङ भएको कम्पनीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij