Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुुङ्गा

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुुङ्गा

  • धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणले नभेट्ने जन्तीढुङ्गामा आनन्द लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ । हरियाली वातावरणमा आनन्द लिन र टिकटक बनाउन यहाँ आउनेको सङ्ख्या बढेको हो । विराटनगर घर भई हाल काठमाडौँ बानेश्वरमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो देखेपछि घुम्न आएको बताउनुभयो । “यहाँको दृश्यहरू हेर्दा निकै रमाइलो लागेको कारण कलेज बिदाका दिन पारेर घुम्न आएको हुँ”, उहाँले भन्नुभयो, “यहाँ आएपछि भिडियोमा देखेको भन्दा अझ रमाइलो र आकर्षक लाग्यो ।” बनेपाबाट जन्तीढुङ्गा आइपुग्नुभएका गणेश तामाङले यहाँ आइपुग्दा रमाइलो लागेको प्रतिक्रिया दिनुभयो ।

    “भिडियोमा त सबै हेर्न पाइँदैन, आफैँ आएर यहाँका हावापानीसँग खेल्दै डाँडासम्म चढेर सुन्दर दृश्य हेर्न पाउँदा झनै रमाइलो हुँदोरहेछ”, उहाँले भन्नुभयो । स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार भौगोलिक दृष्टिकोणले मात्र आकर्षक नभएर जन्तीढुङ्गा धार्मिक महत्व बोकेको स्थान पनि हो । मौलिक कथन अनुसार भगवान बेथानचोक नारायणले त्यहाँ रहेको पञ्चकन्या देवीसँग विवाह गर्न गरिएको बाचाअनुसार त्यो पूरा गर्न नसक्दा विवाहका लागि पुगेका बेहुलासहित सबै जन्तीहरू शिला (ढुङ्गा) भएर बसेका कारण त्यो ठाउँको नाम जन्तीढुङ्गा रहन गएको भनिन्छ ।

    भित्तामा लस्करै रहेको ढुङ्गा हेर्न सिँढी निर्माण गरिएको छ । जन्तीढुङ्गाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ । मानिसको घुँइचो बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पसल सञ्चालन गरी आम्दानी लिन थालेका छन् । पनौती नगरपालिका–४ खत्रीगाउँका देवीमाया खत्रीले मान्छेको आवागमन धेरै हुन थालेपछि पसल गरेर दैनिक एक हजार पाँच सयदेखि पाँच हजारसम्मको व्यापार गर्ने गरेको बताउनुभयो । बनेपाबाट जनगाल, भैँसेपाटी बाँसडोल हुँदै बुढागणेश मन्दिर हुँदै करिब नौ किलोमिटर पार गरेपछि जन्तीढुङ्गा पुग्न सकिन्छ । पनौती बसपार्कदेखि चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij