Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन

नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन

  • सिमकोट  । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।

    पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिएका तुम्लिङमा रहनुभएका उब्जन रावतले बताउनुभयो । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा सवारीसाधनले सडकको हिउँ छिचोल्न नसकेर आफूहरू पाँच÷छ दिनदेखि उतै रोकिनुपरेको रावतले बताउनुभयो । 

    न्यालु लेकमा परेको तीन फिट बढी हिउँ पन्छाउने कार्य  अघि बढ्न सकेको छैन । शनिबार दिउँसो घाम लागेपनि यात्रुले हिउँ पन्छाउन खोज्दा नसकिएको उहाँको भनाइ छ । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनका लागि लिमीको तुम्लिङमा टेलिफोन सेवाले काम नगर्दा साढे एक घण्टा पैदलयात्रा गरिसकेपछि सम्बन्धित निकायमा हिउँ पन्छाउन आग्रह गरेको रावत बताउनुहुन्छ ।  

    हिमपातले बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको तुम्लिङमै रहनुभएका पवन रोकायाले बताउनुभयो । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य सकभर आज हुने नभए सोमबारसम्म पन्छाइसकिने भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो । यो सडक पूर्वधार विकास कार्यालयले हेर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij