Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

पहिलो महिनामै १४ अर्बले बढ्यो सरकारी ऋण, कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब नाघ्यो

पहिलो महिनामै १४ अर्बले बढ्यो सरकारी ऋण, कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब नाघ्यो

  • काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महीनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब २ करोडले बढेर रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् रु १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख ६ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । 

    चालू आवका लागि सरकारले रु ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा रु ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ । 

    वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ७ दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ रु ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महीना ११ दशमलव शून्य ५ प्रतिशत अर्थात् रु ४० अर्ब ऋण उठाइएको हो । 

    बाह्यतर्फ रु २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १ दशमलव ९६ प्रतिशत अर्थात् रु ४ अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ ।

    चालू आवमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि रु ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा रु ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइएको बजेट ८ दशमलव ९३ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij